दमक/ दमकमा १० वटा वडा छन् । हरेक वडामा ४ जना वडासदस्यहरू छन् । यसरी हेर्दा नगरमा ४० जना वडासदस्य भए । यी सबै वडासदस्यलाई आफूखुशी खर्च गर्न पाउने गरी १०–१० लाख रुपैयाँ माग गरेका छन् ।

आइतबार दमक नगरपालिकाको पाँचौं नगरसभामा बोल्दै दमक नगरपालिका वडा नं. ७ का वडासदस्य धनेश्वर कार्की (श्याम)ले ‘वडा सदस्यहरू भूमिकाविहीन झैं भए, आफ्ना योजना र कार्यक्रम केही भएनन्, त्यसैले हामीलाई १०–१० लाख रुपैयाँको बजेट सिलिङ चाहियो’ भन्दै नगरसभामा माग गरे । सङ्घीय सरकार र प्रदेश सरकारको सांसद् क्षेत्र विकास बजेटका बारेमा सङ्घ र प्रदेशमा बहस चलिरहेका बेला दमकका नगर सभासद्हरूले पनि वडासदस्य लक्षित बजेट सिलिङको माग गरेका हुन् ।

केन्द्र र प्रदेशका सांसद्हरूको सांसद् क्षेत्र विकास बजेटको चरम दुरुपयोग भएको र त्यो बजेटले सांसद्को क्षेत्र विकास गर्नेभन्दा पनि पार्टीका कार्यकर्ता केन्द्रित विभिन्न कार्यक्रम गर्दै सकिएको भन्दै त्यसको विरोध पनि उत्तिकै भइरहेको छ । विरोधकै बावजुद पनि केन्द्रीय सांसद्हरूले ६ करोड र प्रदेश सांसद्हरूले अढाई करोड पाउने भएका छन् । यही क्रममा दमकका वडासदस्यले पनि १० लाखको माग गरेका हुन् ।

नगरप्रमुख रोमनाथ ओलीले सभासदस्यहरूको प्रश्नको जवाफ दिने क्रममा १० लाख बजेट होइन, त्यो बराबरको योजना बनाएर आउन वडासदस्यहरूलाई आग्रह गरे । ‘बजेट दिनु ठूलो कुरा होइन तर बजेटबाट के कस्ता योजना सम्पन्न गर्ने हो, त्यो योजना नगरमा पेश गर्नु प¥यो । योजना बराबरको बजेट दिन नगरलाई कुनै आपत्ति छैन’ –नगरप्रमुख ओलीले भने ।

कार्यक्रममा दमक–४ की दलित महिला सदस्य देवी विकले नगरमा विपन्नहरूको अवस्था अत्यन्तै नाजुक भएको बताइन् । नगरले खरको छानोलाई विस्थापित गरी जस्तापाता दिने योजना बनाएको भए पनि त्यस अनुरूपको काम हुन नसकेको भन्दै गुनासो गरिन् । ‘घरहरू छोयो भने मात्र पनि लड्ने अवस्थामा छन् । टाँटीबेरा गरेर बसेका विपन्नको बस्ने अवस्था अत्यन्तै नाजुक छ । यसबारेमा नगरले केही योजना बनाओस्’ –विकले भनिन् ।

त्यसैगरी दमक–३ का वडासदस्य सुकदेव लुइटेलले नगरले बजेट बनाउँदा नगरको पहिचान के हो त्यसमा आधारित रहेर बजेट बनाउन आग्रह गरे । नगरको पहिचान कृषि हो कि पर्यटन ? कुनै एउटालाई आत्मसात गरी त्यसको विकास र प्रवद्र्धनमा नगरले विशेष योजना बनाएर बजेट ल्याउनुपर्ने उनको तर्क थियो ।

दमक–५ की महिला सदस्य कृतिका भट्टराईले दमकको बीचमा रहेको दिपिनी खोला अतिक्रमणमा परेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले खोला मिचेर विभिन्न संरचना निर्माण भएको र अहिले खोला खोलाको रूपमा नरही सामान्य नालीजस्तो भएको बताउँदै खोलाको संरक्षण गर्नुुपर्ने बताइन् ।

अघिल्लो वर्ष १ अर्ब २२ करोड बढी बजेट आएको र आन्तरिक आय वृद्धिमा नगरले योजनाबद्धरूपमा अघि बढ्न नसकेकोमा वडा नं. ६ का वडासदस्य लक्ष्मीप्रसाद दाहालले गुनासो गरे । लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्नु र खर्च मात्रै गर्ने प्रवृत्तिले नगरको समृद्धि हासिल नहुने भन्दै उनले कर सङ्कलनलाई कडाइकासाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

चालू आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजित रकमसमेत खर्च हुन नसक्नुले नयाँ नीति तथा कार्यक्रम मात्र बनाएर त्यसको औचित्य नहुने तर्क उनको थियो । चालू आर्थिक वर्षमा मासु पसलहरूको व्यवस्थापन गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन भएको तर सो बजेट खर्च हुन नसकेको भन्दै उनले गुनासो गरे । ‘जताततै मासु पसलहरूका कारण दमक बजार कुरूप बन्दै गएको छ तर त्यसको नियन्त्रण र व्यवस्थापनका लागि विनियोजन गरेको बजेट खर्चै हुँदैन भने नगर कसरी स्वच्छ र सफा हुन्छ ?’– दाहालले प्रश्न गरे ।

सदस्यहरूको प्रश्नको जवाफ दिँदै नगरप्रमुख ओलीले सदस्यहरूले उठाएका सवालहरूको जवाफ नीति तथा कार्यक्रममा समेटिएको बताए । मासु पसलहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था हुन नसकेका कारण यो वर्ष खर्च हुन नसकेको बताउँदै प्रमुख ओलीले आगामी आर्थिक वर्षभित्र त्यसको व्यवस्थापन गरिनेसमेत उल्लेख गरे । नगरसभाको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए ।