वराहक्षेत्र/ गाउँमा अवसर छ्रैन भन्नेका लागि वराहक्षेत्र चक्रघट्टीस्थित ठाकुरवाडीका राजकुमार यादव उदाहरणीय पात्र हुन् ।

गाईपालनमा जमेका यादव सफल किसानमध्येका एकमा पर्छन् । बिहानदेखि साँझसम्म उनी गाईको स्याहार–सुसारमै व्यस्त रहेको भेटिन्छन् । गोबर सोहोर्नु, दूध दुहुनु, गाईका लागि घाँस काट्नु उनको दैनिकी बनेको छ । यसैबाट मनग्य आमदानी मात्रै गरेका छैनन् उनी गाउँका उदाहरणीय कृषकसमेत बनेका छन् ।

२७ वर्षका उनले पितापुर्खाले अपनाउँदै आएको गौपालनलाई पेशाका रूपमा विकास गरेका छन् । शुरुवातमा सोखका रूपमा २–४ वटा गाई पालेका उनको गोठमा अहिले दर्जनबढी गाई रहेका छन् । उनी व्यवसायिक गाईपालनबाट लाखौं आम्दानी लिनेमध्येमा पर्न थालेका छन् । उनले २०७१ सालदेखि शिवगङ्गा कृषि विकास प्रा.लि.नाम भएको फार्म दर्ता गराए । शुरुमा ५ लाखको लगानीमा ५ थान गाईबाट शुरु भएको उनको व्यवसायिक गाई फार्ममा अहिले ३० थान गाई रहेका छन् । ‘होलेस्टन जातका गाईबाट दैनिक सरदर १७–१८ लिटर दूध उत्पादन हुन्छ, दूध जति सबै वडामै खपत हुन्छ, बाहिर जानु पर्दैन’ –राजकुमारले भने ।

दूध बेचेर मासिक करिब ५० देखि ६० हजार कमाइ हुने बताउँदै उनले यसैबाट कर्मचारीको तलब दिने गरेको बताए । एक कर्मचारीको तलब मासिक १२ लेखि १३ हजार छ, फार्ममा बुबा, भाइ बलराम र म गरी तीन जना र बाहिरका २ जना कर्मचारी छन्’ उनले भने, ‘कर्मचारी र हामी परिवारका सदस्यले दैनिक गाईलाई चाहिने आवश्यक हरियो घाँस काट्नेदेखि लिएर गोबर सोहोर्ने, गाईलाई नुहाउनेदेखि अन्य काम हामी सबै मिलेर गर्छौं ।’ ‘गाईको घाँस र आहाराको लागि बाहिर जानु पर्दैन । ८ बिघामा बाजुरा, मकैचरी, नेपियर र टियोसेन्टी जातको हरियो घाँस लगाएको छु, खेतमा लगाएको गहुँको परालबाट आहारा बनाउँछु’ –उनले बताए ।

रोजगारीको लागि कहिल्यै विदेश नगएका उनी भन्छन्, ‘काम गर्ने र जाँगर हुनेलाई विदेश जानु पर्दैन, मैले कहिले पनि विदेश जान चाहिनँ, हाम्रै गाउँमा छ पैसा, किन जानु प¥यो र विदेश ?’ विदेश गएको भाइ फर्केर हामीसँगै काम गर्दैछ । ५ लाखबाट शुरु गरेको फार्ममा अहिले राष्ट्रिय वाणिज्य बैङ्कको ३० लाख व्यक्तिगत गरी करिब १ करोड बराबरको लगानी भइसकेको उनले बताए । थोरै लगानीबाट शुरु भएको गाईपालन व्यवसाय अहिले ठूलो भएको छ भने अहिले आमदानी पनि राम्रै गरिरहेको उनले बताए ।

‘गर्नेलाई गाउँमा धेरै अवसरहरू छन्, आफ्नो गाउँघरमा काम गर्दा लाज लाग्ने, अनि बाहिर गएर विदेशीको कुटाइ र वचन खाएर कमाउनुभन्दा आफ्नै माटोमा पसिना बगाएर आनन्दले कमाएर रमाउनु सबैभन्दा बेस हुन्छ नि’ कान्छा किसान राजकुमार भन्छन्, ‘अल्छी नगरी मेहनत गर्ने हो भने राम्रो जीवनयापन र आर्थिक उन्नतिको लागि कतै जानु पर्दैन । आशावान भएर लगनका साथ लागिपर्ने हो भने हाम्रै गाउँघरमा प्रशस्त अवसरहरू छन् । त्यसलाई चिनेर आफ्नो समय र ऊर्जालाई सदुपयोग गर्नसके गाउँमा सुन फलाउन सकिने सम्भावना धेरै छन्, गाउँमा उदाहरणीय बनेका राजकुमार यादवको सिको गर्ने हो कि ! पैसा कमाउन बाहिर जानेहरूले ।