धरानलाई सुन्दर नगरी, सफा सुग्घर शहर, हिलो मैलो नजम्ने, पर्यटकीय नगरी, सभ्य र सुसंस्कृत चेतनशील नागरिकको शहर यस्तै यस्तै उपनामले चिनिन्छ र चिनाउँदा गर्व गर्छन् धरानेहरू । तर आफूले आफैलाई जति नै प्रशंसाको माला लगाए पनि मालाको धागो चुँडिएपछि थाहा पाइने रहेछ । यथार्थ त माला कतिको कमजोर छ भन्ने कुरा नै हो । अहिले ठ्याक्कै त्यस्तै देखिएको छ, स्वच्छ, सफा धरानको सवालमा । डेङ्गुको आतङ्कले लाजको पसारो बनेको छ धरान ।

Aananda-Shrestha

गत २ हप्ताअधि धरानको वडा नं. १३, १५ र ८ बाट शुरु भएको डेङ्गु आतङ्क अहिले उत्कर्षमा पुगेको छ । एक किसिमको लामखुट्टेको टोकाइबाट शुरु हुने ज्वरोले अहिलेसम्म धरानमा मात्र ७ सय जना बिरामी परिसकेको विवरण आएको छ । डेङ्गु आतङ्ककै कारण धरानका क्याम्पस, निजी विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । पर्यटकहरूको आवागमन ह्वात्तै घटेको छ । मानिसहरू बाहिर हिँड्न डराउन थालेका छन् । बाहिर उखरमाउलो गर्मी छ । घरीघरी बत्ती जान्छ । धारामा पानी छैन । अहिले निकै कष्टपूर्ण बनेको छ जनजीवन ।

डेङ्गु किन फैलियो धरानबाट ?
यसभन्दा अघि तराईका जिल्लाहरूमा फाट्टफुट्ट देखिएको डेङ्गु भाइरसका बिरामीहरू यस पटक धरानको पनि विशेषगरी वडा नम्बर १५ र ८ का साना–ठूला मानिसहरूलाई सङ्क्रमण गर्यो । धरानको १५ र ८ वडा भनेको सबैभन्दा बढी खोला खोल्सी, डम्पिङ साइडको नजिक चिहानघारी, औद्योगिक क्षेत्र र सवारी साधनहरूको ग्यारेज, पार्किङ क्षेत्र सुँगर, कुखुरा पाल्ने, घना बस्ती भएको वडा भनेर चिनिन्छन् ।

वडा नं. १५ को वरगाछी, ८ को भोटेपुल क्षेत्रमा सबै किसिमका सवारी साधनहरू राख्ने, मर्मत सम्भार गर्ने,नाइटबसहरू सञ्चालन गर्ने गरिन्छ । ती स्थानहरू यति दुर्गन्धित, फोहोरमैलाले भरिएको असुरक्षित छन् कि भनेर साध्य छैन । जताततै टायर फालेको, वर्षौंदेखि थन्क्याएर राखेको थोत्रा गाडीहरूको मुनि, वरिपरि दिसा–पिसाबले भरिएको हुन्छ । नजिकै सार्वजनिक शौचालय नभएको कारण मानिसहरू रोकिराखेको गाडीमा छेलिएर दिसापिसाब गर्ने गर्छन् । वराह, साई जस्ता नामुद रात्री बस कम्पनीहरूले बनाएको आफ्नै ग्यारेजको पनि अवस्था साह्रै नाजुक छ । गाडीमा पस्दा नाक थुनेर बस्नु पर्ने हुन्छ ।

तर गाडीका ग्यारेज पार्क क्षेत्र फोहोर नै हुन्छ, फोहोर नै राख्नुपर्छ भन्ने संस्कार र बानी परिसकेका हामी यात्रु, सवारी धनी र नगरपालिकालाई यसबारे कुनै चासो हुन्न । यस पटक सबै डेङ्गुको लार्भा र प्युपाहरू तिनै फोहोरका थुप्रो जमेको ग्यारेज क्षेत्रका टायरहरूमा फेला परेका छन् । अनि तिनै क्षेत्रको वरिपरिका जनता पहिलो शिकार बनेका छन् । कुरा यतिमा मात्र सीमित हुँदैन । धरानबाट छुट्ने हरेक गाडीले डेङ्गु बोकेका लामखुट्टे अन्य क्षेत्रमा पनि पुर्याएका छन् । यसबारे धेरैले हेक्का राखेकै हुँदैनन् । यसैले अहिले विराटनगर, पथरी, दमक, इटहरीतिर पनि सरिसकेको छ डेङ्गुका लार्भा ।

धरानको घना बस्तीमा बङ्गुर, कुखुरा, गाईवस्तु पालन
धराने कालो बङ्गुर भनेर काठमाडौंमा प्रसिद्ध बनाइएको छ धरानको नाम । यो कालो बङ्गुर प्रायः धेरैको घरमा पाल्ने गरिएको कारण पनि नयाँ–नयाँ रोगको घर बन्न पुगेको छ धरान । धरानमा दिनमा १० देखि १८ हजार केजीसम्म मासु खपत हुन्छ । ती मासुहरू ज्यादै अव्यवस्थित र बधशालाविहीन छन् । जसले जता काट्दा पनि यहाँ नियम छैन । धरानका प्रायः सबै मासु पसलहरू सडकनजिकको ढल, नालामाथि एउटा खाट राखेर सञ्चालन गरिएका छन् ।

त्यस्ता पसलमा माछामासुलाई केहीले नछोपी खुल्ला राखेको पाइन्छ । किन नछोपेको भन्दा व्यापारीहरूको रेडिमेड जवाफ हुन्छ, ‘छोप्यो भने ग्राहकले देख्दैन अरे छुन पाउँदैन अरे ।’ योभन्दा असभ्यता र अचेतनाको पराकाष्ठा हुँदैन । दिनभरिमा त्यो मासुमा सडकको सबै धुलोमैला टाँसिएको हुन्छ । धरानमा मरेका, काटिएका जीवजन्तुको हड्डी सिनो धरान–८ स्थित लाङ्घाली सामुदायिक वन नजिक वा चारकोसे झाडीको राजमार्ग छेउछाउ फुत्त मिल्काइएका हुन्छन् । जसको दुर्गन्धले स्थानीय जनता वर्षौंदेखि पीडित छन् भने गाडीका यात्रुहरूले नाक थुन्दै यात्रा गर्नुपर्छ ।

धरानमा अर्को समस्याको रूपमा देखापरेको छ जताततै कुखुरा र बङ्गुर फार्महरू । विभिन्न रोगले सजिलै सङ्क्रमण गर्ने कुखुरा, बङ्गुरजस्ता पशुपालन भनेको घना मानवबस्तीबाहिर हुनुपर्ने हो । तर धरानमा सरदर हरेक ५ घरमध्ये एक घरले कुनै न कुनै पशुपक्षीको आफ्नै घरमा फार्म खोली व्यवसायिक खेती गर्ने गरेका छन् । त्यो पनि सम्बन्धित निकायको कुनै अनुमति लिनु पर्दैन । त्यसैले धरानमा कति यस्ता फार्महरू छन्भनेर सोध्ने हो भने धरान उपमहानगरपालिका वा वडा कार्यालयसँग यसबारे कुनै तथ्याड्क भेटिँदैन । धरान उपमहानगरपालिकाले यसबारे कहिल्यै अनुगमन र नियम बनाउन चासो पनि देखाएको छैन । यसरी जथाभावी बस्तीभित्र कुखुरा, बङ्गुर र गाईपालन गरी दिँदा रोग व्याधीको डर त छँदैछ । छरछिमेकमा धेरैजसो झै–झगडाको कारण पनि बन्ने गरेको छ ।

चारकोसे झाडी ग्यास चेम्बर बन्दै
चारकोसे झाडी भनेको विविध किसिमका बोटबिरुवा, जीवजन्तुको बासस्थान हो । यहाँको बोटबिरुवाले अक्सिजन उत्सर्जन गरी स्वच्छ वातावरण कायम राख्न मद्दत पुर्याउँदै आएको छ । यो जैविक विविधताको पनि खानी हो । धरान नगरको लागि यो वरदान पनि हो । तर यस्तो अक्सिजनको खानीमा नगरपालिका आफैले जानी जानी अव्यवस्थित रूपमा फोहोरमैला फाल्ने, आगो लगाएर कार्वनको धुवाँ जङ्गलभरि, आफ्नै शहरभरि छरेर आफ्नो खुट्टामा आफैले बञ्चरो हानिरहेको छ ।

अहिले धरानमात्र नभएर इटहरी उपमहानगरपालिकाले पनि चारकोसे झाडीलाई डम्पिङ साइड बनाएको छ । यस्तो धुवाँबाट दम, रुघाखोकी, क्यान्सरजस्ता अनेकौं रोगव्याधी लाग्ने गर्छ । जङ्गलका बोटबिरुवा जीवजन्तु मासिँदै गएका छन् भने विशेषगरी वडा नं. १५ र ८ का जनता यी सबै प्रदूषणबाट पीडित छन् । एउटा सानो लाथ्रा बोकेर लाने सर्वसाधारणलाई पक्रेर वनमुद्दा लगाउने वन कार्यालयका कर्मचारी र हाकिमहरू सिङ्गो जङ्गलमा आगो लगाएर ग्यास चेम्बर बनाउँदा, बोटबिरुवा र जीवजन्तुलाई दुःख दिँदा किन कारबाही गर्न सक्दैनन् ?

डेङ्गुको निराकरण कसरी ?
संस्कृतमा एउटा भनाइ छ, ‘शरीर माध्यम् खलु धर्म साधनम् ।’ शरीरलाई स्वस्थ्य राख्नु नै ठूलो धर्म हो । हामीले व्यक्तिगत होस् वा सरकारी तवरबाट वर्षमा अर्बौं रुपैयाँ स्वास्थ्य र शिक्षाको लागि खर्च गर्छौं । तर आज धरानजस्तो शहरमा आफैले उत्पादन गरेको फोहोरमा रमाएको एउटा लामखुट्टेले टोकेर सयौं मानिस बिरामी हुन्छन् भने हामीले स्वास्थ्य र शिक्षामा गरेको लगानीको प्रतिफल खोइ त ? धरान नगरपालिकाले गरेको लगानी खोइ त ? यसबारे समीक्षा गर्ने पनि बेला भएन र ? हामी आफ्नो घर–आँगन, शहर, टोल र गल्लीको सरसफाइमा कतिको अचेत रहेछौं भन्ने कुरा यसपालिको डेङ्गु आतङ्कले नाङ्गो पारेर देखाएको छ ।

घर वरिपरि, सार्वजनिक स्थानहरूमा बिग्रिएका पुराना सरसामानहरू जथाभावी मिल्काउँदा त्यहाँ पानी जमेर लामखुट्टेले घर बनाउँदो रहेछ । अनि त्यही घरबाट आएका लामखुट्टेजस्ता कीटाणुहरूले रोग फैलाउँदा रहेछन् भन्ने दिव्य ज्ञान पनि यसै पटकबाट धेरैले पाएको देखियो । आफ्नै घरको पानीका ट्याङ्की, बलेसी, भाँडाकुँडामा धेरै दिनसम्म पानी जमेर। कुहिएर त्यहाँ लामखुट्टेले अण्डा पारेर आफ्नो सन्तान फैलाउने गर्दो रहेछ ।

त्यस्ता स्थानहरूलाई खोजेर नष्ट गर्नुपर्ने भनेर सरकारले अहिले घर–घरमा स्वयम्सेवकहरू पठाएको छ । यो राम्रो काम भइरहेको छ । तर सरकारले सधैँ त स्वयम्सेवक अवश्य पठाउँदैन । त्यसैले यो डेङ्गु आतङ्क लाजको पसारो मात्र नभएर स्वास्थ्य र सरसफाइप्रति हामीलाई सचेत बनाउने अवसर पनि भएको छ । अब सबैले आफ्नो घरआँगन सार्वजनिकस्थलहरू सफा राख्नुपर्छ । अनि मात्र उपमहानगरपालिकाका स्वस्थ र सभ्य नागरिकको बिल्ला भिर्न सुहाउला ।

सुन्दरता र वातावरण संरक्षणको लागि नगरको बीचमा गमलामा फूल रोप्ने कार्य राम्रो कुरा हो । तर चारकोसे झाडीमा आगो लगाई त्यही फूल भएको सुन्दर शहरमा धुवाँको मुस्लो ल्याउने कार्यलाई धरान उपमहानगर पालिकाले यथाशीघ्र सच्याउनु पर्छ । धरानका यातायात व्यवसायीहरूलाई पनि आफ्नो कार्यक्षेत्रको सरसफाइ गर्ने जिम्मेवारी किन नदिने ? के उनीहरूको काम गाडी किनेर पैसा कमाउने अनि शहरमा फोहोर गर्ने मात्र काम हो ? शहरभित्रको फोहोर व्यवस्थापनमा गर्न मासु व्यवसायी, बङ्गुर, कुखुरापालक कृषकहरूसँग सहकार्य गर्दै कडा नियम बनाई कार्यान्वयन, अनुगमन गर्नतिर सबै स्थानीय निकायहरू लाग्न जरुरी छ, नत्र ......सक्यो दैलो देख्यो भन्ने उखानले हामीलाई चिमोटिरहनेछ ।
[email protected]