धरान/  नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा चारवर्षे पोषण तथा आहार विज्ञानमा नयाँ भर्ना रोक्दै पठन–पाठन ठप्प बनाउने भएको छ ।

हात्तीसार क्याम्पसबाट हालसम्म उत्पादित पोषणविद्को दरबन्दी सरकारले सिर्जना नगरेको र लोकसेवा आयोगले पनि मान्यता नदिएको जनाउँदै लाखौं रुपैयाँ खर्चेर पोषण विषय अध्ययन गरी बेरोजगार नहुन सचेत गराउँदै नयाँ विद्यार्थी भर्ना रोक्न समाजले तालाबन्दी र धर्ना शुरु गरेको हो ।

समाजका अध्यक्ष रामप्रसाद तिवारीले बेरोजगार उत्पादन गर्ने पोषण तथा आहार विज्ञान विषय बन्द गर्दा हुने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘नयाँ विषय भएकाले जागिरको सुनिश्चितता हुने देखेर मुलुकका विभिन्न जिल्लाबाट पोषण तथा आहार विज्ञान पढ्न आएका छन् । तर पासआउट भएर जानेहरूले अहिलेसम्म सरकारी लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न पाएका छैनन् । किन पढाउने यस्तो विषय ?’

कतिपय निकाय, अस्पतालहरूले पोषणविद्को पद सिर्जना गरेर विज्ञापन गरे पनि नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्ने प्रावधानले आफूहरूसँग भएको ज्ञान र सीप कतै सदुपयोग नभएको तथा त्रिविले दिएको प्रमाण–पत्र कागजी खोस्टामात्र भएको तिवारीले बताए । उनले समाजले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गराउन क्याम्पस प्रशासन, त्रिवि, विज्ञान तथा प्रविधिको डीन कार्यालयलाई दबाव दिँदै आन्दोलन, तालाबन्दी र धर्ना दिँदै आएको बताए ।

परिषद्मा दर्ता गर्नका लागि क्याम्पस प्रशासनले पहल गर्न ढिला भएको बताए । हालसम्ममा क्याम्पसबाट नवांै ब्याच पासआउट भइसके पनि परिषद्मा दर्ता नभएकै कारण कसैले पनि सरकारीस्तरमा जागिर नपाएको समाजका अध्यक्ष तिवारीले बताए । उनले भने, ‘समय, पैसा र लगानी खेर जान नदिन क्याम्पस प्रशासन, परिषद् र डीनको कार्यालय घेराउ र धर्ना दिनुको विकल्प छैन ।’

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख धनबहादुर कार्कीले राष्ट्रिय योजना आयोग र विश्व विद्यालय अनुदान आयोगले पोषण तथा आहार विज्ञानका दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राखेर विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनेपछि धरानमा पठन–पाठन शुरु गरेको बताए ।

उनले पाठ्यक्रम निर्माण गर्न र वित्तीय व्यवस्थापनका लागि डीनको कार्यालयले खाद्य प्रविधि विषय समितिलाई दिएको जिम्मेवारीअनुसार पाठ्यक्रम निर्माण गरेर ०६७ सालदेखि २४ जनाको कोटामा विद्यार्थी भर्ना गरेर पठन कार्यक्रम शुरु गरे पनि अहिले आएर परिषद्ले दर्ता गर्न आनाकानी गरेको बताए । पोषणविद्को सबैतिर माग हुने भए पनि परिषद्मा दर्ता हुनुपर्ने प्रावधान राखिएकाले स्वदेश र विदेशसमा समेत कतै अवसर नै नपाउने अवस्था आएको बताए ।

उक्त विषयको स्कोप विभिन्न अस्पताल, ठूला–ठूला तारे होटल, विभिन्न खाद्य उद्योगदेखि सरकारी निकाय, खाद्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गैरसकारी संस्थामा रहेको छ । तर शर्तको रूपमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुनुपर्ने प्रावधानले पोषणविद्हरू बेरोजगार बन्नुपरेको उनले बताए । उनले भने, ‘विद्यार्थी र पोषण विषय पढेर पास आउट भएकाहरूले आन्दोलन गरेपछि परिषद्लाई दर्ताका लागि पत्राचार गरिएको छ । प्रयास जारी राखेका छौं ।’

परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्सँग त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र केन्द्रीय प्रविधि क्याम्पसबीच समन्वय अभावले समस्या उत्पन्न भएको बताए । परिषद्ले स्वास्थ्य सेवासँग जोडेर हेर्छ । तर त्रिविको पोषण तथा आहार विज्ञान पढेका पोषणविद्ले बिरामीको स्वास्थ्य र रोगबारे अध्ययन नगर्ने हुनाले दर्ताको विषयमा समस्या आएको भण्डारीले बताए । उनले भने, ‘यद्यपि केन्द्रीय प्रविधि क्याम्पसको पत्र आएको छ । शनिबार पनि विषय समितिले यसबारे प्रक्रियाका लागि छलफल जारी राखेको छ । तर दर्ता हुने कि नहुने भन्नेमा केही टुङ्गो लगाइएको छैन ।’