भद्रपुर । नगरपालिकाका नेतृत्व तहले दुईतिहाईको दम्भ देखाएर दलीय स्वार्थमा नगरवासीको अपेक्षा अनुरूप काम नगरेको भन्दै नेपाली काङ्ग्रेस नगर समितिले नगरपालिकालाई २७ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएको छ ।

नेपाली काङ्ग्रेस कार्यकर्ताहरूले बिहीबार भद्रपुर बजार परिक्रममा गरी नगरपालिकामा पुगेर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई खबरदारीसहितको ज्ञापन–पत्र बुझाएका हुन् ।
झापा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति गणेश पोखरेल र नगर सभापति मोहन महर्जनले संयुक्त रूपमा नगर प्रमुख श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका थिए । नगरको कार्यपालिकाको बोर्ड बैठकमा भएको कर्मचारी समायोजनसम्बन्धी निर्णयसमेत उल्टाउँदै नेतृत्व तहले दलगत स्वार्थमा कर्मचारीलाई हाजिर गराएको पाइएकाले काङ्ग्रेसका जनप्रतिनिधिले बैठक बहिष्कार गर्न बाध्य पारेको पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट उम्मेदवारी दिएका आफ्ना दलका कार्यकर्तालाई निर्वाचनलगत्तै नगरपालिकामा जागिर दिएको र कर्मचारीहरू बीच विभेद गरी नगरपालिकाको नेतृत्व गर्ने दिशामा उन्मुख रहेको पत्रमा जनाइएको छ । त्यसैगरी तीन तहको निर्वाचन अघिको सरकारका पालामा भएका दीर्घकालीन विकास निर्माणका योजनाहरू सघन सहरी विकास योजनाअन्तरगतको सडक विस्तारको काम गुणस्तरहीन, गिरिजाप्रसाद कोइराला स्मृति भवन र मेची अञ्चल अस्पतालको भवन निर्माणमा ढिलासुस्ती हुँदासमेत नगरपालिकाले अनुगमन नगरेको उल्लेख छ । त्यसैगरी मेची नदीमा निर्माणाधीन झोलुङ्गे पुलमा ढिलासुस्ती भएको, चालु आर्थिक वर्षमा एक करोड विनियोजन गरी जनप्रतिनिधिले निजी स्वार्थका लागि सवारी साधन खरिद गरेको, एकीकृत सम्पत्ति कर बढाएर नगरवासीलाई आर्थिक बोझ थोपरेको जनाइएको छ ।

भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको झन्डै दुई वर्षपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सत्तारुढ दलका जनप्रतिनिधिहरूको काम कर्तव्यमाथि खबरदारी शुरु गरेको छ । काङ्ग्रेस भद्रपुर नगर समितिले नगरको १० वटै वडा कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै खबरदारी अभियान चलाएको थियो ।
नगरपालिकालाई पार्टीका कार्यकर्ताहरू भर्ती केन्द्र बनाइएको र विकास निर्माणको काममा आफ्ना कार्यकर्तालाई मात्र ठेक्का दिने गरेकाले त्यस्ता कार्य तुरुन्त बन्द गरिनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।
नगरको विकासका लागि सबै पक्षको सहयोगको आवश्यक्ता पर्ने नगर प्रमुख श्रेष्ठले ज्ञापन–पत्र बुझ्दै बताए ।