दमक/ भुटानी शरणार्थी शिविर सेक्टर ३ मा बस्ने दलबहादुर दर्जी शिविरको छाप्रामा एक्लै बस्छन् । उनको परिवार नै नभएर एक्लै बसेका भने हैनन् ।

उनका तीन जना छोराछारी सबै पुनर्वासमार्फत् तेस्रो मुलुक पुगेका छन् । उनले पनि तेस्रो मुलुक जाने अवसर नपाएका चाहिँ होइनन् । छोराछोरी गएकै बेला उनलाई पनि जाने भए जाउ भनेका हुन् । तर उनी जान मानेनन् । किनकि उनी आफ्नो देश फर्कन चाहन्छन । ‘म भुटानमै जन्मेको हुँ म भुटानमै मर्न चाहन्छु ।’ आफ्नो अन्तिम इच्छा आफ्नै देश फर्कने रहेको उनले बताए । तेस्रो देश पुगेका उनका छोराछोरीले अहिले उनलाई एक कल फोनसमेत गर्दैनन् । त्यसैले पनि उनी भन्छन् ‘ विदेश जानु भनेको स्वार्थी बन्नु हो, मायामोह त्याग्नु हो त्यस्तो मुलुकमा मलाई जानु छैन ।’ आफ्नै छोराछोरी त विदेश पुगेपछि मन बदल्दा रहेछन्’ मन अमिलो पार्दै उनले भने ।

भुटानबाट राजनीतिक कारणले २८ वर्षअघि लेखेटिएर ज्यान जोगाउन सफल भएकाहरू अहिले नेपालमा शरणार्थीको जीवन बिताइरहेका छन् । यो अवधिमा उनीहरूको जीवनमा निकै उत्तरचढाव भए । पुनर्वासका नाममा परिवारका सदस्यलाई तेस्रो मुलुक पुर्याइदिएपछि बाँकी रहेका उनीहरूमा पारिवारीक बिछोडको पीडा झन् पेचिलो बनेको छ ।

पारिवारिक विचलनले उनीहरूको मानसपटलमा पारेको असरले मात्र उनीहरूलाई पिरलेको छैन । शरणर्थीका नाममा पाउँदै आएका विभिन्न सेवा सुविधासमेत कटौती हुन थालेपछि उनीहरूलाई अहिले के खाने, भरे के खाने भन्ने चिन्ताले सताएको छ । बेलडाँगी सेक्टर २ का दलबहादुर कार्की उमेरले ८० नाघिसकेका छन् ।

शिविरमा गत जनवरी महिनासम्म केही रासन पाउँथे उनले । तर अहिले विश्व खाद्य सङ्घले खाद्यान्न वितरण बन्द गरेको छ । जसले गर्दा उनीहरूलाई अहिले के खाने, भरे के खाने भन्ने पीरले पिरलेको छ । कार्की भन्छन्, ‘गाउँमा माग्छु दिए खान्छु नदिए पानी तताएर खान्छु ।’ दातृ निकायले खाद्यान्न कटौती गरेपछि उनलाई बिहान बेलुका खानै मुस्किल परेको सुनाए । ‘काम गरेर खान सक्नेस्थित छैन । उमेरले डाँडा काटिसक्यो । यद्यपि उनी भन्छन्, ‘मर्न चाहिँ भुटानमै पाउँ ।’

आफ्नै पुख्र्यौली ठाउँ भुटान छाडेर अर्काको देशमा आएर शरणार्थी जीवन बिताउन उनीहरूलाई कति पनि मन छैन । त्यसैले उनीहरूको शुरुदेखिकै एउटै माग छ ‘हामीलाई हाम्रै देश फार्काइदेउ । शिविरमा अहिले वृद्धवृद्धा, बालबालिका र काम गर्न नसक्ने समूहका शरणार्थीहरूको बाहुल्यता छ । झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चिरेमा गरी अहिले करिब ६ हजारको हाराहारीमा शरणार्थीहरू बाँकी छन् ।

१ लाख भन्दा बढी शरणार्थी पुनर्वासका लागि तेस्रो मुलुक पुगेका छन् । बिहीबार विश्व शरणार्थी दिवस विश्वभर मनाइयाे । ‘शरणार्थीसँगै पाइला चालौं’ भन्ने मूल नारासहित विश्वभर यो दिवस मनाइयो । तर यही दिन झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थी भने अनेक समस्या झेलिरहेका छन् । पुनर्वासका कारण पारीवारिक बिछोड, भुटान फर्कन पाउने २८ वर्षदेखिको नमरेको आशा । दातृ निकायले दिँदै आएको सेवा–सुविधा कटौती भएपछि शरणार्थी थप समस्यामा पर्न थालेका छन् ।