धरान/ साङ्गीतिक प्रतिस्पर्धा भोजपुर आइडल २०७५ मा विजेता बनेपछि बबिना राईको परिचय फेरियो । अहिले उनलाई धेरैले ‘भोजपुर आइडल’ कै रूपमा चिन्छन् ।

भोजपुरको आमचोक गाउँपालिका–१० पाङ्चाकी बबिना सानैदेखि गीत–सङ्गीत भनेपछि हुरुक्कै हुन्थिन् । गीत–सङ्गीतप्रति उनको मोह यति साह्रो थियो कि रेडियो नेपाल र विभिन्न एफएम रेडियोहरूमा गुञ्जिने गीतहरू ध्यान दिएर सुन्थिन्, तिनै गीतहरूलाई पछ्याउँथिन् । जहाँ जाँदा पनि उनको साथमा प्रायः रेडियो हुन्थ्यो । ‘सानोमा स्कुल जाँदा पनि सानो रेडियो साथमै बोकेर जान्थेँ’ उनी सुनाउँछिन्, ‘क्लासमा सुन्न नमिले पनि मेरो ध्यान रेडियोमा हुन्थ्यो । त्यसैले टिफिन टाइममा रेडियो खोलिहाल्थेँ ।’

स्कुलमा हुने कार्यक्रमहरूमा बबिना मज्जाले गाउँथिन् । उनको गायन प्रतिभा देखेर साथी, शिक्षक र परिवारले हौसला दिन्थे । ६–७ कक्षा पढ्दादेखि स्कुलमा गाउने उनले गायनलाई निरन्तरता दिइन् । घरमा सङ्गीत क्षेत्र बुझेका त कोही थिएनन् तर परिवारले उनको रहरमा सधैँ साथ दियो ।

औपचारिक रूपमा सङ्गीत नसिके पनि उनले रेडियो सुनेकै भरमा आधुनिक, पप, लोकशैलीका गीतहरू सिकिन् । त्यही गीत सुनाएर धेरैलाई मन्त्रमुग्ध बनाइन् । त्यही मेहनतले उनले छैठौं भोजपुर आइडलमा भोजपुर जिल्लाभरका धेरै प्रतिस्पर्धीलाई पछि पार्दै नगद १ लाखसहितको उपाधि जितिन् ।

हुन त बबिनाले एकदशकअघि नै गीत रेकर्ड गराइसकेकी थिइन् । गायक, सङ्गीतकार सुमन राईसँग उनले त्यसैबेला आफ्नै गाउँको बारेमा पूर्वेली जुहारी गीत ‘पाङ्चा सिद्धथान’ बोलको गीत गाएकी थिइन् ।

उनले भोजपुर आइडलमा मेलिना राईले गाएको गीत ‘तिमीले बाटो फेर्यौ अरे’ गाएकी थिइन् । त्यसैले उनलाई विजेता बनायो । बबिना भन्छिन्, ‘त्यसबेला मैले खासै प्राक्टिस गर्न पाइनँ । फाइनलकै दिन साथीसँग गीतको ट्रयाक मागेर सुनेँ अनि गाएँ ।’ हाल धरानमा बस्दै आएकी उनलाई अब भने औपचारिक रूपमा सङ्गीत सिक्नु पर्छ भन्ने लागेको छ ।

साङ्गीतिक क्षेत्रमै लागेर भविष्य बनाउन चाहने उनी कसैले सहयोग गरे नयाँ गीतहरू बजारमा ल्याउने योजनामा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘सङ्गीत क्षेत्रबाहेक अरु केही सोचेको छैन, राम्रो गीत गाएर अरु कलाकारजस्तै स्थापित हुन चाहन्छु ।’