उदयपुर/ दुर्गम पालिका लिम्चुङ्बुङको ताम्लिछामा सञ्चालित मगर होमस्टेमा अर्गानिक खानाको परिकार लोकप्रिय बनेको छ ।

मगर गाउँमा गत वर्षदेखि सञ्चालन भएकोे होमस्टेमा पाहुनाहरूले स्थानीय अर्गानिक खानाको परिकारहरू मन पराएपछि लोकप्रिय बन्दै गएको हो । लिम्चुङ्बुङ गाउँपालिका–२ ताम्लिछा डाँडागाउँमा गत वर्षको फागुनदेखि होमस्टे सञ्चालनमा आएको छ । मगर जातिको बाहुल्यता भएको गाउँमा १० घरमा होमस्टे सञ्चालित छन् । होमस्टेमा मगर जाति विशेष तथा स्थानीय परिकारको स्वाद लिन सकिने र मगर जातिको पहिचान झल्काउने साँस्कृतिक कार्यक्रम पनि हुने गरेको होमस्टे सञ्चालक कृष्ण दलार्मी मगरले बताए ।

विकट गाउँको मगर बस्तीमा होमस्टे सञ्चालन भएपछि बोल्ने शैलीदेखि सरसफाइ र आर्थिक स्तरमा समेत परिवर्तन भएको मगरले बताए । पहिलेको गाउँ र अहिलेको होमस्टेको हरेक कुरामा आकाश–पातालको परिवर्तन आएको उनले बताए । गाउँमा उत्पादन भएको अग्र्यानिक खानाको परिकारमा कोदोको सेलरोटी, कोदोको सुख्खा रोटी, भुटेको मकै भटमास, गुन्द्रुकको अचार, सिस्नुको दाल, कोदोको ढिँडो, स्थानीय जातका दाल, लोकल कुखुराको मासु, बङ्गुरको मासुलगायतका खाना परिकार पाइने मगर होमस्टे ताम्लिछाका अध्यक्ष तेजबहादुर मगरले बताए ।

होमस्टेमा पाइने खानाको परिकार पर्यटकहरूले अत्याधिक मन पराउने र खानका लागि इच्छा व्यक्त गर्ने गरेका अध्यक्ष मगरले बताए । पाहुनाहरूले विशेष गरी खानामा सिस्नुको दाल, लोकल कुखुराको मासु र कोदोको ढिँडो मन पराउने गरेका छन् भने खाजाको रूपमा कोदोको सेलरोटी र भुटेको मकै, भटमासका परिकारको माग गर्ने गरेको उनले बताए । होमस्टेमा पाहुनाहरूको इच्छाअनुसारको खाना परिकार बनाइने र मनोरञ्जनका लागि मगर जातिको पहिचान झल्काउने हुर्रा, मारुनीजस्ता लोक नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि हुने अध्यक्ष मगरले बताए ।

जिल्लाको कर्णाली भनेर चिनिएको विकट गाउँमा सञ्चालन भएको होमस्टेको प्रचार–प्रसारमा कमी हुनु र सडकको अवस्था नाजुक हुनुले पर्यटकहरूको आगमनमा कमी आएको जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका मगर होमस्टे सञ्चालक समितिका सल्लाहकार बोधबहादुर मगरले बताए ।

गाईघाट – मुर्कुची – भालेबास – दोबाटे – बारा – सुनकोशी – हलेसी सडकखण्ड देखि करिब दुई किलोमिटरभित्र पर्ने होमस्टेमा आउने पाहुनाहरू खुशी भएर फर्कने गरेको सदस्य तथा सल्लाहकार मगरले बताए । होमस्टे सञ्चालन भएपछि होमस्टेमा सरसफाइदेखि सम्मान सत्कार, बोलीचाली लगायतका कुराहरूमा सुधार आउनुका साथै पहिलाको तुलनामा परिवर्तन आएको उनले बताए । जातीय सस्कार, संस्कृतिको प्रवद्र्धनसँगै पालिकामा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा पालिकाको सहयोग गर्दै आएको पालिकाले जनाएको छ ।

हालै लमजुङ्को घले गाउँ, इलामको गढीथुम्का लगायतका नेपालका प्रख्यात होमस्टेहरूको भ्रमणसमेत पालिकाले गराएको होमस्टे सञ्चालक समितिले जनाएको छ । लिम्चुङ्बुङमा मगर होमस्टेसँगै ३ नम्बर वडाको मिसिन्टारमा कार्की होमस्टे र ४ नम्बर वडाको बलम्तामा यलम्बर होमस्टे सञ्चालनमा आएको पालिकाले जनाएको छ ।