धरान । एन्फा सुनसरी जिल्ला लिग फुटबल प्रतियोगिताको छनौट शनिबारदेखि शुरु भएको छ ।

सुनसरीको चार स्थानमा छनौट थालिएको छ । त्यसअन्तर्गत धरानमा एन्फा सुनसरीसँग आवद्ध ५ टिम स्पर्धा गरिरहेका छन् । शनिबारको उद्घाटनको खेलमा धरान–१९ को युवा जागृति क्लब र धरान–८ को राइजिङ क्लबबीच बराबरीमा रोकिएको छ । १–१ गोलको बराबरी गर्दै अङ्क बाँडेका छन् । खेलको म्यान अफ दी म्याच जागृतिका गोलरक्षक उमेर परियार घोषित भए ।

प्रतियोगितामा युनाइटेड क्लब, टेम्के क्लब धरान र धरान फुटबल क्लब स्पर्धा गरिरहेका छन् । धरानबाट दुई टिम जिल्ला लिगका लागि भिडन्त गर्ने छ । इटहरी, इनरुवा, र भरौलबाट छनौट भएका ८ टिमले जिल्ला च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने एन्फाका उपाध्यक्ष एवम् धरानका संयोजक नवीन राईले बताए ।

धरान क्षेत्रको प्रतियोगिताको उद्घाटन सुनसरी उद्योग बाणिज्य संघमा हालै निर्वाचित अध्यक्ष गिरिधारी सापकोटाले गरे । उनले संस्थालाई १५ हजार रुपैयाँ दिने घोषणा समेत गरे । यसैबीच धरान फुटबल क्लबले उनलाई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरेको छ । एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राईले एन्फाको परिकल्पनाअनुसार जिल्ला–जिल्लाबाट खेलाडी छनौट थालिएकाले खेलाडी र खेलको विकासमा महत्त्वपूर्ण हुने बताए ।

जिल्लाबाट छनौट भएको टिम प्रदेश स्तरमा भिडन्त गर्ने छ भने प्रदेशबाट राष्ट्रिय लिगका लागि एउटा टिम छनौट हुने छ । कुल १० वटा टिमले राष्ट्रिय लिग खेल्ने छन् । जसमध्ये ६ वटा शहीद स्मारक ए डिभिजन लिगबाट ६ वटा छनौट हुने छन् भने ४ वटा प्रदेश स्तरबाट छनौट हुने छन् ।

Anfa-sunsari-selation (1)

Anfa-sunsari-selation (3)

Anfa-sunsari-selation (2)