धरान । लोप हुँदै गएको नेपाल भाषालाई संरक्षण गर्न नेवार जातिको साझा संस्था नेवाः देय दवू नगर समिति लागेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार धरानमा नेवारको जनसङ्ख्या १५ हजार २ सय ३७ रहेको छ । नेपाल भाषा समुदायमाझ कामकाजी बनाउन अभियान सञ्चालन गरिने नगर समितिका अध्यक्ष मनोहर शाक्यले बताए । शनिबारको कार्यक्रममा प्याकेजमार्फत् कार्यक्रम अगाडि बढाउने तयारी गरेको उनले बताए ।

पहिलो चरणमा न्यूनतम ३० जनालाई प्रशिक्षण गराउने तयारी भएको छ । असार ५ गतेदेखि तीन महिने प्रशिक्षण गराइने छ । धरानमा यसअघि तीन पटक नेपाल भाषाको प्रशिक्षण गराइसकिएको छ । तर प्रभावकारी हुन सकेको छैन । यो पटक भने प्रभावकारी बनाउन प्याकेजकै रूपमा लिएर जानुपर्ने अवस्था आएको उनले बताए ।

नेपाल भाषा मर्दै गएकाले भाषा संरक्षणमा दवूःले जोड दिनु परेको जिल्ला अध्यक्ष तीर्थ मास्केले बताए । अध्यक्ष मास्केले संसद्मा दर्ता भएको गुठी विधेयकको विषयमा पनि खुलेर विरोध गरे । उनले यो गुठी नष्ट गर्ने अभियानको उपज भएको बताए । गुठी विधेयकप्रति के गर्ने भन्ने विषयमा प्रदेश कमिटीले आइतबार विस्तृत छलफल गर्दै आन्दोलन अगाडि बढाउने तयारी थालेको छ ।