पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप–२०७६ अन्तर्गत शुक्रबार भएको क्रिकेटको सेमिफाइनल खेलमा वडा नं. ६ फाइनलमा प्रवेश गरेको छ ।
खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको खेलमा वडा नंं ६ ले टस जितेर फिल्डिङ रोजेका थिए । ब्याटिङको जिम्मा पाएको वडा नं. २ ले १२ ओभरमा सबै विकेट गुमाएर ५८ रनको टारगेट दिएका थिए । जवाफी ब्याटिङ गरेको वडा नं. ६ ले १५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो ।
खेलको म्यान अफ दी म्याच विजेता टिमका निश्चल ओझा भएका थिए । ओझाले ट्रफी र मेडल पाएका थिए । शनिबारको फाइनल खेल वडा नंं ३ र ६ बीच बिहान ८ बजे हुने खेल संयोजक रोशन तिम्सिनाले बताए ।
त्यसैगरी बिहीबार भएको क्वार्टर फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको वडा नं.२ ले १४ ओभरमा सबै विकेट गुमाएर ८० रनको टारगेट दिएका थिए । जवाफी वाटिङमा वडा नं. ७ ले १४ ओभरमा मात्र ५७ रन बनाएर अलआउट हुँदा २ नं. वडा २२ रनले विजेता बनेका थिए ।
खेलको विजेताले २५ हजार, उपविजेताले १५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष भूपाल श्रेष्ठले बताए ।