पथरीशनिश्चरे । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारा अघि सार्र्दै नाट्य गतिविधिमा सक्रिय दक्षिण इलामको चुलाचुली रङ्गमञ्चले शैक्षिक पाठ्यक्रमलाई आधार मानेर चुलाचुली पाठशाला नाटक उत्सव २०७६ गर्ने भएको छ ।
चुलाचुली रङ्गमञ्च र शुरूवात थिएटर, क्रिएटिभ जर्नी फाउण्डेसन तस्मानिया अष्ट्रेलियासँगको संयुक्त आयोजनामा आज(शनिबार) र भोलि उत्सव हुने भएको नाट्य अभियानका अगुवा चेतन डरले जनाए ।
सामुदायिक कवर्ड हल चुलाचुली–३ मा हुने उत्सवमा नवोदित ६ निर्देशकहरूको ६ वटा फरक विषयका नाटक मञ्चन हुने भएको छ । पहिलो दिन आज झापा धरमपुरको सिकिया पुस्तकालयको ‘मङ्गली’, अमृत मेमोरियल बोर्डिङ स्कुल इलामको ‘लौरी’, चुलाचुली बोर्डिङ स्कुल इलामको ‘दुई केटी’ नामक नाटक मञ्चन हुनेछ । भोलि जनता माध्यमिक विद्यालय इलामको ‘पुनः मिलन’, झापास्थित परिवर्तन थिएटरको ‘छुई’, अन्तु एकेडेमी इलामको ‘चमेली’ नाटक पनि मञ्चन हुनेछ ।
गायक तथा साहित्यकार गणेश रसिकका साथै चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । २ लाख ५० हजार बढी रकम खर्च हुने अनुमान गरिएको नाटक उत्सवमा झापाको कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट चुलाचुलीको सहकार्य तथा चुलाचुली गाउँपालिका र गाउँपालिकाका ६ वटा वडा कार्यालयहरूको समेत समन्वय रहेको छ ।