इतिहास व्यक्ति, परिवार, समाज, गाउँ, शहर र राष्ट्र सबैको भएजस्तै धर्म, राजनीति, राजनीतिक पार्टीको पनि हुन्छ । इतिहास कस्तो छ, त्यसको आधारशिला, त्यसको पृष्ठभूमि कस्तो थियो । यो जान्नु बुझ्नु पनि हामीलाई जरुरी र आवश्यक पनि छ । समयमै आफ्नो इतिहास, आफ्नो कर्मभूमि कस्तो बनाउने त्यो युवावस्थामै सोच्नु व्यक्तिको लागि जति अनिवार्य छ । त्यति नै जरुरी धर्म, राजनीतिको विचार कसरी स्थापित गराउने त्यो धर्मगुरु अवतारीहरू र राजनीति गर्ने राजनेताहरूले पनि समयमै सोच्नु पर्छ र आफ्नो इतिहास बनाउनेतिर लाग्नु पर्छ ।

om-achrya

इतिहास बनाउनेहरूले गर्वले जुनसुकै मञ्चबाट भन्न सकुन् कि सुन्नेलाई कर्णप्रिय लागोस् । सुन्नेलाई प्रेरणा मिलोस्, सुन्नेले यस्तै इतिहास बनाउने आफ्नो लक्ष्य राखोस् । इतिहास सुन्दा सुनाउनेप्रति क्रोध नआओस्, सुनाउनेप्रति घृणा नजागोस् र सुनाउनेप्रति अनास्था पैदा नहोस् । सुनाउनेप्रति वितृष्णा पैदा नहोस् । विशेषतः मैले यहाँ केही राजनीतिक पार्टीहरूको मूलभूत राजनैतिक इतिहासको कुरा स्मरणतिर लान खोजेको हुँ ।

ती राजनीतिक पार्टीहरूको पृष्ठभूमि, राजनीतिक पार्टीको आधारशिलातिर फर्कन प्रेरित गर्न खोजेको छु । अहिले यी पार्टीहरू यस देशमा स्थापित भइसकेका छन् र आफू कसरी, कुन राजनैतिक मार्गबाट, कुन कर्मभूमिबाट स्थापित भएका छन् । त्यसको सामान्य जानकारी सबले राख्नुस् भन्न खोजेको छु ।

एकपल्ट सायद गुरु रजनिशसँग एक महिला डाक्टरले आफ्नो पूर्वजन्मको कुरा थाहा पाउने, आफ्नो पूर्वजन्मबारे जान्ने जिज्ञासा राखिन् । गुरु रजनिशले यो कुरामा तपाईं हठ नगर्नुस्, जिद्दी नगर्नुस्, यो जानेर तपाईंलाई आनन्द र सुख अनुभूति हुँदैन । तपाईंमा पीडा ग्लानीबाहेक केही प्राप्ति हुँदैन भन्दा उनको हठ र जिद्दीका साथै सामना गर्न तयार छु भनेपछि रजनिश गुरुले उनको पूर्वजन्म फिल्म जस्तो सबै देखाइदिए । पूर्वजन्मतिर फर्काइदिए, त्यो समयमा तिनी शहरका चर्चित तर घृणित वेश्या रहिछन् र अहिलेको वर्तमानको सम्मानित डक्टर जीवनमा ठूलो धक्का लाग्यो र कालान्तरमा उनको यही पीडाले जीवनलीला समाप्त भयो ।

विगत त्यस्तो हुनुपर्छ, जुन स्मरण गर्दा सुखद् होस् । विगत त्यस्तो हुनुपर्छ, जसको स्मरणले आयु वृद्धि गरोस् र विगत त्यस्तो हुनु पर्छ कि मृत्युपछि प्रेरणाको रूपमा अरुहरूले त्यो विगतलाई सम्झेर आफ्नो उद्देश्य बनाउन । नेपालमा भएका राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा बन्नुभन्दा पूर्वको एमाले, नेकपा माओवादीलगायतका पार्टीहरू जसको इतिहास जसको राजनैतिक पृष्ठभूमि राजनीतिक आधारभूमि कस्तो छ । के यिनीहरूमा कुन कुन पार्टीले जनतामाझ आफ्नो इतिहास आफ्नो विगत गर्वले शानले भन्न सक्छन्, यो कुरालाई ती पार्टीहरूले कसरी मनन् गरेका छन् र यो कुरामा आमजनताले यिनीहरूको विगत इतिहासतिर फर्केर हेरेपछि ती राजनीतिक दलहरूमा के कति श्रद्धा, के कति निष्ठा बनाएका छन् या कति घृणा, कति अनास्था बनाएका छन् या त कति क्रोध पालेका छन् अनि कति वितृष्णा बनाएका छन् यो पनि जान्नु जरुरी देखिन्छ ।

राजनीतिक दलहरू स्वयम् आफू पनि आफ्नो विगतबाट कति सन्तुष्ट छन्, आफ्नो विगत इतिहासबाट कति आनन्दित छन् र कति गर्वित अवस्थामा छन्, त्यो पनि ती राजनीतिक दलले आत्मालोचना, पुनर्मूल्याङ्कन गरेका छन् या छैनन् ? एउटा कुरा आफ्नो राजनीतिक पार्टीको नाम स्थापनाकालदेखि अहिलेसम्म कुन पार्टीले राख्न सकेको छ र कुन पार्टीले आफ्नो पार्टीको नाम परिवर्तित गर्दै गएका छन् र कुन पार्टी अन्य पार्टीमा विलय हुँदै आफ्नो इतिहास बिर्सन या बिर्साउन खोजिरहेका छन् ।

यी सबै कुरा विगत इतिहासकै पृष्ठभूमि ले गर्दा यस्तो गर्नुपर्ने अवस्था कुन कुन पार्टीमा देखापरेको छ या देखा पर्न खोज्दै छ, यसलाई आफ्नो दृष्टिमा राखिरहुन् र त्यो जरासम्म पुग्न प्रयत्न गर्नुस् सबैको राजनीतिक, धार्मिक, सामाजिक पारिवारिक पृष्ठभूमि तपाईंको आँखाअगाडि चलचित्रजस्तो सर्र दृश्यमा आउँछ । ती महिला जो आफ्नो पूर्वजन्मको जानकारीबाट आफैप्रति घृणा, ग्लानि र पीडाले जसरी आफ्नो जीवनलीला समाप्त गरिन्, त्यस्तो अब उप्रान्त हामीबाट नहोस् । शुभविचार, शुभकर्म आओस् सबैमा मेरो अनुरोध ।
(लेखकः मोरङ काङ्ग्रेसको मुखपत्र चारताराका सम्पादक एवम् जिल्ला प्रशिक्षण विभाग सदस्य हुन् ।)