उदयपुर/ उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा छैठौँ रमपम उदयपुर गोल्डकप–२०७६ शनिबारदेखि शुरु हुने भएको छ । गोल्डकप जेष्ठ ३२ बाट शुरु भई असार ७ गतेसम्म सञ्चालन हुने भएको हो ।

उदयपुर गोल्डकप मूल आयोजक समितिको आयोजनामा हुने प्रतियोगितामा सशस्त्र प्रहरी बल काठमाडौं, न्यू स्टार क्लब सुनसरी, मोरङ ट्रेनिङ सेन्टर, नेपाल पुलिस क्लब काठमाडौं, झापा फुटबल क्लब झापा, गोर्खा बोइज क्लब रूपन्देही, सङ्कटा क्लब काठमाडौं र आयोजक टिमसहित आठ टिम सहभागी हुने छन् । उद्घाटन खेल सशस्त्र प्रहरी बल काठमाडौं र न्यू स्टार क्लब सुनसरीबीच हुने पत्रकार सम्मेलन गरी जनाइयो ।

प्रतियोगिता विजेताले नगद ५ लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छ । उपविजेताले नगद ३ लाख रुपैयाँसहित प्रमाण–पत्र पाउने छ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूका लागि २ लाख ७० हजार बजेट छुट्याएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत ५३ लाख ५० हजार रहेको समितिले जनाएको छ । उदयपुर गोल्डकप शुरु गरेपछि उदयपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले बताए ।