मधुमल्ला/ ढुङ्गा कुँदेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, चतुरलाल राजवंशी ।

मोरङको कानेपोखरी गाउँपालिका–४ का राजवंशी ढुङ्गामा देवीदेउता र जनवारको आकृति कुँद्ने गरेका छन् । ३८ वर्षीय राजवंशीले कुनै साधना र सैद्धान्तिक ज्ञानबिनै ढुङ्गामा आकृति बनाउन थालेको वर्षौं भइसक्यो ।

कसैले सामाग्री माग गरेमात्रै मूर्ति बनाउने गरेका राजवंशीले गतिलो अवसर र आर्थिक सहयोग पाए व्यवसायिक रूपमै मूर्ति निर्माण उद्योग शुरु गर्ने इच्छा रहेको बताए । २५ वर्ष अघिदेखि मूर्ति बनाउन थालेका उनले भारतको सिक्किम र नेपालका विभिन्न भागमा पुगेर मूर्ति बनाइसकेका छन् ।

पित्तल, तामा जस्तालगायतबाट बनाइने परम्परागत मूर्तिकलामात्रै होइन ढुङ्गामा कुँदेर पनि उनी राम्रा मूर्ति तयार पार्न सक्छन् । विभिन्न प्रकारका मूर्ति बनाउनका लागि राजवंशीसँग कुनै प्रविधि र साधन नभए पनि उनको कलात्मक मूर्तिमार्फत् सबैलाई मोहित पार्छन् ।

विभिन्न मन्दिर, धार्मिक स्थल, पर्यटकीय स्थलका लागि २ हजारभन्दा बढी मूर्ति निर्माण गरिसकेको उनको भनाइ छ । घरेलु स्रोत र साधनको प्रयोग गर्दै निकै सस्तोमा मूर्ति बनाउने राजवंशी राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई अझै धेरै फैलाउने धोको रहेको बताउँछन् ।

मासिक रूपमा अवस्था हेरी ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँदै आएको उनको भनाइ छ । राजवंशीले देवीदेवताको मूर्तिमात्र होइन विभिन्न व्यक्तिको सालिक र जनावरको प्रतिमा पनि बनाउने गरेका छन् ।

murti-11