धरान/ नियन्त्रणबाहिर गएको डेङ्गुको प्रकोप थप फैलन नदिन शुरु भएको सर्च एण्ड डेस्ट्रोय अभियान घर–घर पुग्दा धरानका ९८ प्रतिशत घरमा डेङ्गुका अण्डा, लार्भा र प्युपा फेला परेको छ । आइतबार बेलुकासम्ममा सङ्क्रमितहरूको सङ्ख्या ८० जना पुगेको अवस्थामा घर–घरमै डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौंको सङ्ख्यामा भेटिएपछि सङ्क्रमितको सङ्ख्या अझै बढ्ने चिकित्सकहरूले बताएका छन् ।

घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । उनले भने, ‘चिकित्सकसहितको र्यापिड रेस्पोन्स टिमले घर–घरमा निरीक्षण अवलोकन गर्दैै सर्च एण्ड डेस्ट्राेय गर्दैछौं । तर प्रत्येक घरमा टोली पुग्न नसक्ने भएकाले स्थानीय बासिन्दाले पनि पानी जम्न नदिनु एकमात्र विकल्प हो ।’

तीनसातादेखि धरानमा डेङ्गुको अवस्था भयावह भएको छ । एउटै घरमा तीन–तीनजनामा डेङ्गु सङ्क्रमण भएको पनि पाइएको यादवले बताए । धरान–१४ विजयपुर चोकको एक होटलमा प्रयोग गर्न राखिएको खुला ट्याङ्कीको पानीमा लार्भासहित डेङ्गु सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टे भेटिएको यादवले बताए । उनका अनुसार डेङ्गु सार्ने एडिस एजिप्टाई पोथी लामखुट्टेको आयु ३० दिनको हुन्छ । जमेको सङ्लो पानीमा अण्डा, लार्भा र प्युपा हुन १० दिन लाग्छ । पानी सुके पनि अण्डा भने वर्षदिनसम्म रहिरहने भएकाले डेङ्गु नियन्त्रण गर्न मुस्किल भएको छ ।

उनले भने, ‘अब फगिङ मेसिनले मात्र डेङ्गु नियन्त्रण गर्न सकिने अवस्था छैन । अण्डा, लार्भा र प्युपा नै नष्ट गर्नुपर्छ ।’ उपमहानगरपालिकाले तीन दिनअघि खरिद गरेर ल्याएको चार थान फगिङ मेसिन र बीपी प्रतिष्ठानको दुईथान गरी ६ थान मेसिन प्रयोग गरेर बिहान र बेलुका बढी सङ्क्रमित क्षेत्रमा अल्फा साइफर मेथ्रिन छरिरहेको छ । फगिङ मेसिनले लामखुट्टेमात्र मर्छ । अण्डा, लार्भा र प्युपा नमर्ने भएकाले पानी नै सुकाउनु पर्ने र्यापिड रेस्पोन्स टिमका सदस्य तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक अधिकृत महेश्वर राईले बताए ।

धरानको वडा नं. ५, १४, १ र १५ मा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौंको संख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट डा. विजयकुमार खनालले बताए । घर–घरमा पुग्दा वयष्क डेङ्गु सङ्क्रमित लामखुट्टेसमेत भेटिएको उनले बताए । डेङ्गुको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागका डाइरेक्टर जनरल डा.गुणराज लोहनीसहितको टोलीले बुझ्ने कार्य थालेको छ ।