काठमाडौं / धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा युवतीसँग मस्ती गरिरहेको घटना सार्वजनिक भएको छ ।
जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा भेटिएका हुन ।

कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलार्इ होेटलमा पुर्‍याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी खाँदै पहरा दिइरहेका तस्विर समेत सार्वजनिक भएको छ ।
जवरजस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइके भएको बताइएको छ । कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कैदी बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको यस घट्नाले रहस्य खुलेको छ ।
गम्भीर बिरामी भएको खण्डमा र कुनै विशेष परिस्थितिको लागि मात्रै कैदीबन्दी बाहिर पठाउने गरेको धादिङ कारागार कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए । ‘उपचारका लागि र विशेष कामको लागि गएका कैदीबन्दीहरू होटलमा भेटिए भने नैतिक जिम्मेवारी कारागारको हुन्छ तर हामीले सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएको हुने कारागार प्रमुख बताउछन् ।
यस विषयमा प्रहरी तथा जिल्ला प्रशासन कार्यलयले छानविन शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश विष्टले जानकारी दिए । घटना हिजो बाहिरा आएको छ । ‘यसको सत्यतथ्य के हो भन्ने विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाएर अनुसन्धान शुरु गरिएको छ ।’–डिएपी विष्टले भने ।