इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहरीमा धर्मावलम्बीहरूले विरोधसभा गरेका छन् । नेपाललाई हिन्दु राष्ट्र घोषणाको माग गर्दै इटहरीमा बृहत् धर्मसभा आयोजना गरी नेपाल हिन्दु राष्ट्र नभए देशभर आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् । 

धर्मगुरुहरूले नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरे देशभर धार्मिक आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । एजेण्डाविहीन कसैको निर्देशनमा हिन्दु राष्ट्र हटाइएको भन्दै धर्म गुरुहरूले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका हुन् । धर्मगुरु श्रीनिवास आचार्यले हिन्दु राष्ट्र नभएसम्म गाउँ–गाउँबाट आन्दोलन चर्काउने चेतावनी दिए । 

विभिन्न धर्म तथा सम्प्रदायका गुरुहरू एकैथलोमा भेला भएर उनीहरूले हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका हुन् । धर्मसभाका लागि इटहरी आएका हिन्दु, क्रिश्चियन, बौद्ध धर्मका गुरुहरूले नेपालको राष्ट्रियता र संस्कृति रक्षाका लागि हिन्दु राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका थिए ।

क्रिश्चियन धर्मका पास्टर डा. केबी रोकायले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए । नेपाल हिन्दु राष्ट्र भएमात्रै क्रिश्चियन धर्मको रक्षा हुने डा.रोकायले बताए । नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने उनको माग थियो । उनीसँगै अन्य धर्मगुरुहरूले पनि नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका थिए । 

यस्तै हिन्दु राष्ट्रको अगुवाइ गर्दै आएका प्रकाशचन्द्र लोहनीले नेपाल र नेपालीको अस्तित्व रक्षाका लागि पनि हिन्दु राष्ट्र बनाइनुपर्ने बताए । आफ्नो पार्टी मात्रै नभएर अन्तरपार्टीभित्र पनि यो आवाज बुलन्द भएर आइरहेको बताए । 

धर्मसभामा बोल्ने अधिकांश धर्मगुरुहरूले हिन्दु राष्ट्रको पक्षमा बोलका थिए । विशेषगरी हिन्दु, क्रिश्चियन, बौद्ध धर्मका गुरुहरूले सबै धर्मको रक्षाका लागि हिन्दु राष्ट्र आवश्यक रहेको बताएका थिए । धर्मसभामा नेपालसहित भारतबाट पनि धर्मगुरुहरू आएका थिए ।