भद्रपुर । सरकारको ढुलमुले नीतिका कारण झापाका कृषकहरूले उत्पादन गरेको चैते धानले मूल्य नपाउँदा खेतमै सुक्ने वातावरण बनेको छ ।

झापाको दक्षिणी गाउँपालिका कचनकवल, भद्रपुर नगरपालिकामा किसानले लगाएको चैते धानले उचित बजार मूल्य पाउन सकेको छैन । किसानले उत्पादन गरेको धान सरकारले नकिन्ने तथा व्यापारीले उचित मूल्य नहाल्दा खेतमै धान सुक्ने अवस्था आएको हो । व्यापारीले प्रतिमन ६ देखि ७ सय रुपैयाँ मात्रै दिने बताउँदै आइरहेको कृषक तोया मिश्रले बताए ।

गत वर्ष सरकारले हर्दिनाथ धानको मूल्य प्रतिक्वीन्टल साढे २४ सय रुपैयाँ तोकेको थियो । तर, व्यापारीले उक्त मूल्यलाई कार्यान्वयन नर्गदा किसान मारमा परेका छन् । १०० केजीको एकक्वीन्टल हुन्छ ।

मङ्सिरको धान प्रतिमन ११ सय रुपैयाँमा बिक्री भए पनि चैते धानले मूल्य नपाएको कृषि अधिकृत सागर विष्टले बताए । धान सुपरजोन क्षेत्र नेपालकै होचो भूभागमा पर्छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन क्षेत्र घोषणा गरेसँगै अधिकांश किसानले चैते धान लगाउन थालेका थिए ।