दमक । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको दमकमा भूकम्प सङ्ग्राहालय बनाउनुको औचित्यमाथि प्रश्न तेस्र्याएका छन् ।

झापाको कमल गाउँपालिकामा काङ्ग्रेसले जारी गरेको जागरण अभियानलाई सम्बोधन गर्नेक्रममा भूकम्पपीडितहरूलाई सहयोग गर्नुको सट्टा सङ्ग्राहालय बनाउनुको अर्थमाथि प्रश्न तेस्र्याएका हुन् । उनले सङ्ग्राहालयको आवश्यकता नभएको प्रष्टाए । उनले आवश्यकतामा आधारित विकासका योजनालाई मात्रै अगाडि बढाउन प्रम ओलीलाई सुझाएका छन् ।

नेता शर्माले काङ्ग्रेस सरकार तथा विकासको विरोधमा उत्रिएको नभई औचित्य र आवश्यकता पुष्टि गर्ने किसिमको विकास गर्न ध्यानाकर्षण गराउने उद्देश्यले जागरण अभियान चलाएको बताए । ‘सरकार सिन्धुपाल्चोकमा बनाउनु पर्ने भूकम्प स्मृति सङ्ग्राहालय दमकमा बनाउन लाग्दैछ के यो दमकको आवश्यकता हो ?’–उनले प्रश्न गरे ।

‘दमकमा ५ हजार सुकुम्बासीले घर बनाई पाउँ भन्दै नगरपालिकामा निवेदन दिएको खबर सुनेका छु तर सरकार सुकुम्बासीलाई घर बनाई दिनभन्दा पनि गुलीया योजना सुनाएरै भुलाउनमा व्यस्त छ,’–उनले भने ।