सिंह चाम्लिङ राई
उदयपुर । उदयपुरको रौतामाईमा आगलागी हँुदा घर गोठ जलेर नष्ट भएको छ ।

रौतामाई गाउँपालिका–५ डाँडागाउँ थुम्कि निबासी सरोज राईको घर गोठ सोमबार जलेर नष्ट भएको हो । दिउँसो घरमा कोही नभएको बेला अचानक घरमा आगलागी भएको पीडित राईले बताए । काठको एक तले खरको छानो भएको घर, मतान, सुङ्गुर खोर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको पीडित राईले बताए ।

सुन्तला बगैँचा बीचमा रहेको घरमा आगलागी हुँदा वरिपरिको करिब डेढ दर्जन सुन्तलाको बोट पनि जलेर नष्ट भएको छ । दिउँसोबाट लागेको आगो पानीको समस्याले गर्दा निभाउन नसकिएको स्थानीय मनद राईले बताए । आगोले बस्ने घर अनि खाने अन्न र ओढ्ने, ओछ्याउने र लगाउने कपडा सबै जलेर नष्ट भएकाले आफन्तको घरमा आश्रय लिनुपर्ने अवस्था आएको पीडित राईले बताए ।

जिल्लाको उत्तरी विकट गाउँमा आगलागी भएको हो । घटना स्थलमा प्रहरी आई नपुगेकाले क्षतिको आँकलन गर्न नसकिएको स्थानीयले बताएका छन् ।