इटहरी/ ऐलानी जग्गा उपभोग गर्दै आएको इटहरी–९ स्थित डिभिएम स्कुलले बारम्बारको निर्णय लत्याएको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर चलाउने भएको छ । 

लामो समयदेखि डिभिएम स्कुलले जग्गा ओगटेको र बारम्बार उपमहानगरको निर्णय नमानेको कारण आफै डोजर लिएर स्कुल भत्काउन जाने इटहरीका मेयर द्वारिकलाल चौधरीले चेतावनी दिएका छन् । आइतबार स्कुल सञ्चालक समितिसँग बसेको वार्ता निष्कर्षविहीन भएपछि पत्रकार सम्मेलन गरेर मेयर चौधरीले डोजर चलाउने चेतावनी दिएका हुन् । 

इटहरी उपमहानगरले ४ वटा विकल्पसहित हडपेको जग्गा छोड्न भने पनि स्कुलले नमानेपछि कठोर निर्णय लिन आफूहरू बाध्य भएको मेयर चौधरीले बताए । निर्माणाधीन भौतिक संरचना भएको ठाउँको भाडा तिर्नु पर्ने, स्कुलले बनेको संरचनाको रकम उपमहानगरबाट लिनसक्ने र छोडेर जान सक्नेसहितको विकल्प दिएको मेयर चौधरीले बताए । ‘हामीले विभिन्न विकल्प दिँदा पनि नमानेपछि डोजर चलाउने तयारी गरेका हौं’ –मेयर चौधरीले भने ।

यता डिभिएम सञ्चालक समितिमध्येका ध्रुव सुब्बाले भने आफूहरूले किनेको जग्गामा स्कुल चलाउँदै आएको बताए । ‘उपमहानगरपालिकाले अल्टिमेटम दिएको छ हामी के गर्ने भन्ने अल्मलमा छौं’ –उनले भने । आफूहरूले किनेको ६ कठ्ठा ५ धुर जग्गा नम्बरी भएको बताउँदै उनले लामो समयदेखि भोगचलन र बेचबिखन हुँदै आएको जग्गा भएको दाबी गरे ।