धरान/ धरानमा थप तीनजनामा डेङ्गु सङ्क्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. देवराज घिमिरेका अनुसार उनीहरू सबै डेङ्गुका नयाँ बिरामी हुन् । यसअघि वडा नं. १५ का तीनजना बालबालिकामा डेङ्गु सङ्क्रमण देखिएको थियो । थपिएका सहित डेङ्गु सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।

प्रतिष्ठानमा उपचार गर्न पुगेका ती सबै धरान–१५ बाँझगराकै बासिन्दा रहेको बताइएको छ । एकसाताअघि फेला परेका बिरामीहरू बालिबालिका थिए भने शनिबार उपचार गर्न पुगेकाहरू सबै २० वर्षमाथिका छन् । उनीहरूको उपचार प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ ।

तीनजनामध्ये एकजना २२ वर्षीय पुरुष, ३३ वर्षीया महिला र अर्का ६२ वर्षीया वृद्धा रहेका छन् । उनीहरू सबैको पोजेटिभ रिपोर्ट आइसकेको छ । उनीहरूलाई बेडभर्ना गरेर थप उपचार गर्न वार्डमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. अधिकारीले भने, ‘प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि आएकामध्ये तीनजनामा डेङ्गु देखिएको हो ।

उनीहरूको उपचार भइरहेको छ ।’ एक्कासि उच्च ज्वरो आउने, पेट दुख्ने, उल्टी आउने, हड्डी कट्कटी दुख्नेलगायत लक्षण देखापरेपछि चिकित्सकले डेङ्गुको शङ्का गरेर ल्यावटेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । डेङ्गु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेलाई चिकित्सकहरूले ‘ब्लाक टाइगर’ भन्ने गरेका छन् । उक्त लामखुट्टेले दिउँसै मानिसलाई पछ्याएर टोक्ने गर्छ ।

गत कातिकमा धरान–१६ मा १० जना डेङ्गु सङ्क्रमित फेला परेका थिए । यसपटक धरान–१५ को बाँझगरातिर डेङ्गु सङ्क्रमित फेला परेपछि प्रतिष्ठानको प्राविधिक सहयोगमा चारदिनअघि धरान उपमहानगरपालिकाले औषधि छर्केको थियो ।

त्यसबेला बाँझगराको एभरेष्ट लाइन, पाथीभरा लाइन, पिण्डेश्वर चौक, पुष्पलाल मार्ग, देवकोटा चौक, बुढासुब्बा चोक, सदन मार्ग, ध्रुवज्योति पथ, चेम्जोङ पथलगायतमा फगिङ औषधि छर्किएको भए पनि फेरि डेङ्गु रोगी फेला परेपछि उक्त औषधि प्रभावकारी नभएको स्थानीय बासिन्दाले बताए । कम्तिमा दुईदिनको फरकमा धरानभरि पटक–पटक औषधि नछर्किएसम्म धरानबाट डेङ्गु समाप्त नहुने स्थानीय बासिन्दाले बताए ।

चिकित्सकहरूले यसपटक धरानमा डेङ्गु बेमौसममा देखा परेको बताएका छन् । पानी परे पनि नजम्ने भौगोलिक कारणले धरानलाई सफा, सुन्दर मानिएको बेला एकपछि अर्कोमा डे्ङ्गु देखापरेपछि डेङ्गुको जोखिममा रहेको चिकित्सकहरूले बताए । डेङ्गु सार्ने एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा डेङ्गु सङ्क्रमण हुन्छ ।