धनकुटा । १४ औं संस्करणको शहीद भीमनारायण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले जितेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार सम्पन्न फाइनल खेलमा क्यामरुन टोली दाफिन्स फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै एपिएफले नगद ४ लाख रुपैयाँ हात पा¥यो भने उपविजेतामा सीमित भएको दाफिन्सले नगद २ लाख रुपैयाँमा चित्त बुझायो । पहिलो हाफको ४० औं मिनेटमा दाफिन्सका यानिक वोआनाले गोल गर्दै दाफिन्सलाई शुरुवातमा अग्रता दिलाएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा दाफिन्सका निज्मा यानिकले डि–बक्सभित्र एपिएफका सुमित आले मगरलाई लडाएपछि पेनाल्टीको अवसर पाएको थियो । सो पेनाल्टी अवसरलाई सदुपयोग गर्दै एपिएफका रवि थिङ तामाङले गोल गरेपछि एपिएफले खेल बराबरीमा ल्यायो । खेल बराबरी भएपछि दाफिन्सले आक्रामक खेल खेल्न थाल्यो । दोस्रो हाफको २३ औं मिनेटमा दाफिन्सले फ्रिकिकको अवसर पाएको थियो ।

दाफिन्सका नाग्मा यानिकले फ्रिकिकबाट दिलाइदिएको पासलाई पेटेङ्गाले हेडमार्फत् गोल गर्दै पुनः आफ्नो टिमलाई २–१ को अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको समय सकिन करिब १ मिनेट बाँकी हुँदा एपिएफका रवि थिङ तामाङले दिलाएको पासलाई सदुपयोग गर्दै रमेश लामाले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याएका थिए । निर्धारित समय बराबरीमा टुङ्गिएपछि समय अभावको कारण अतिरिक्त समय नखेलाई सोझै पेनाल्टी सुटआउटमा खेल परिणत भएको थियो ।

पेनाल्टी सुटआउटमा रवि थिङ तामाङ, घनश्याम थारु, हरि कार्कीले गोल गरेका थिए । बुद्धिमान राईको प्रहार दाफिन्सका गोलकिपरले रोकेका थिए । त्यस्तै दाफिन्सको तर्फबाट पेटेङ्गा र प्रिसोले मात्रै गोल गर्न सफल भए भने नज्मा यानिक, मेसोके र यानिक वोआना गोल गर्न असफल भए । उनीहरूमध्ये २ जनाको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले रोकेका थिए भने १ गोल पोष्टबाहिर गएको थियो ।

शुक्रबार सम्पन्न खेलको म्यान अफ द म्याच एपिएफका सुमित आले मगर घोषित भए । उनले नगद पाँच हजार सहित मेडल हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रवि थिङ तामाङ भए । उनले नगद २० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपिएफका अमृत चौधरी, डिफेन्स एपिएफका सरोज कोइराला, मिडफिल्डर दाफिन्सका एरियल इनामे, फरवार्ड दाफिन्सका यानिक वोआना, प्रशिक्षक एपिएफका सुदीप श्रेष्ठ घोषित भए । उनीहरूले नगद १०–१० हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङलगायतले खेलाडीहरूलाई पुरस्कार, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको छ । सो अवसरमा प्रतियोगिताभर उत्कृष्ट समाचार लेखेबापत अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हरिबहादुर लम्जेल र कान्तिपुर टेलिभिजनका संवाददाता विनोद घिमिरे पुरस्कृत भए ।