ताप्लेजुङ / ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई जना भारतीय पर्वतारोहीको मृत्यु भएको छ । अर्का एकजना सम्पर्क विहिन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ । पीक प्रमोशनवाट आरोहण गर्न गएका भारत पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको हो ।
चुचुरोमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविर भन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । आरोहण दलका सदस्यका अनुसार झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको बताइएको छ । ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेका थिए ।
यता बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिए पछि चिलीका पर्वतारोही भने सम्पर्क विहीन भएका छन् । अहिले सम्पर्क विहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ । कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । त्यहाँ बारम्बार हिउँपहिरो पनि गइराख्छ । त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकारहरू बताउँछन् ।