धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिकामा हुने सबै प्रकारका रोगको शल्यक्रिया सजह रुपमा हुने थालेको छ । यस अघि बाल सर्जनको अभावमा यहाँ आउने विमारीहरु काठमाण्डौं तथा भारतको सिलिगुरी रेफर हुदैं आएका थिए । बाल तथा नवजात शिशु सर्जन डा. राजेश साह प्रतिष्ठानमा आए पछि विशेष गरेर नवजात शिशुको जन्मजातदेखिने समस्याको शल्यक्रिया धरानमै हुन थालेको हो ।
श्वास नली र खाने नली जोडिएका, मलद्वार नभएका, आन्द्रामा नसा नभएका, आन्द्राको विकास नभएको, मुख बाङ्गिएको, पिसाव फेर्ने ठाउँ फरक भएको अण्डकोष बटारिएकोलगायतको समस्या भएका नवजाती शिशु जन्मिए प्रतिष्ठानले अन्यत्र रेफर गर्दै आएको थियो । पाकिस्थानबाट विशेषज्ञता हासिल गरेका डा. साह एक बर्ष अघि प्रतिष्ठानमा आए पछि यस्तो समस्या भएका सबै प्रकारका विमारीको शल्यक्रिया हुन थालेको छ । एक बर्षको अवधीमा करिव ६ सय बालबालिकाको सफल शल्यक्रिया भएको बाल सर्जन डा. साहले जानकारी दिए । ‘यस्ता समस्या भएका बालबालिकाहरुलाई काठमाडौंको निजी अस्पतालमा शल्यक्रिया गर्दा लाखौं खर्च हुन्छ । तर प्रतिष्ठानमा १२ हजार मै हामी शल्यक्रिया गछौं ।’–तीन बर्ष कान्तिबाल अस्पताल काठमाडौंमा कामको अनुभव सङ्गालेका डा. साहले भने ।–‘यहाँ महिलामा झण्डै ५० जना बालबालिकाहरुको शल्यक्रिया भइरहेको छ ।’ कार्तिक महिनासम्म शल्यक्रियाको नाम दर्ता भएको उनले बताए ।
बालबालिकाहरुको शल्यक्रियाको विशेषज्ञ प्रतिष्ठानमा उनी एक्लै भए पनि यहाँ अन्य सर्जनहरुले दलालहरु मार्फत पेइङबाट शल्यक्रिया गर्ने गरेको उनले गुनासो गरे । प्रतिष्ठानले विमारीबाट महगो शुल्क लिएर तत्काल उपचार तथा शल्यक्रिया गराउन पेइङ सेवा संचालन गदैं आएको छ । उक्त पेइङबाट आएको शुल्क चिकित्सकहरुले पाउछन् । औषधी व्यवासायीहरुले राखेका दलाल मार्फत अन्य सर्जनहरुबाट बालबालिकाको शल्यक्रिया गराउदैं आएको उनको भनाई छ । 
प्रदेश १ र २ का बालबालिकाहरुलाई उनले शल्यक्रिया गदैं आएका छन् । उनी यहाँ आए पछि विमारीको खर्च पनि जोगिएको र प्रतिष्ठानको आम्दानी पनि बढेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताए । नेपालमा जम्मा १५ जना बाल सर्जन रहेका छन् । साह राजधानी बाहिर काम गर्ने एक मात्र सर्जन हुन । अरु सबै राजधानी मै कार्यरत छन् ।
१२ बर्ष अघि प्रतिष्ठानमा दिल्लीको एम्स कलेजबाट डा. अक्षयप्रताव सिंह आएका थिए । उनले एक बर्ष काम गरेर पुन भारत फर्केका थिए । १२ बर्ष पछि डा. साहलाई प्रतिष्ठानले भित्राएको हो । तीन बर्ष अघि साह प्रतिष्ठान आएका थिए । सर्जरी विभागका तत्कालिन विभागीय प्रमुखले निरुत्साही गरे पछि कान्तिबाल अस्पतालमा काम गरेको उनी बताउछन् ।
त्यसो त उनले विशेषज्ञता हासिल गरे पछि सरकारी डाक्टरको रुपमा जिल्ला अस्पताल खाँदबारीमा ५ बर्ष प्रमुख भएर काम गरे । सदरमुकामबाट हिडेर ७ दिन लाग्ने किमाथाङ्कासम्म पुगेर विमारीको उपचार गरेको उनीसँग अनुभव रहेको छ ।