वराहक्षेत्र/ वराहक्षेत्रको चतराघाटस्थित पुरानो बुद्धको चित्र अङ्कित ढुङ्गालाई संरक्षण गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्न वराहक्षेत्रवासीले माग गरेका छन् ।

वराहक्षेत्र नगरपालिका वडानम्बर १ चतराघाटको दूधपानी खोलामा रहेको ठूलो ढुङ्गामा कुँदिएको बुद्धको चित्र र बुद्धको वचन अङ्कित ढुङ्गाको पुनरोद्धार गर्न स्थानीयले माग गरेका हुन् ।

चतराघाटको दूधपानी खोलाको किनारमा बनाउन लागिएको बुद्ध विहारका लागि काठमाडौंका सागर लामाले ३५ फिट उचाइ र २२ फिट चौडाइको ठूलो चट्टानमा बुद्धको पूर्णको कदको चित्र र तिब्बतीमा भाषामा बुद्धका उपदेश कुँद्न लगाएको स्थानीय कवि तथा धार्मिक अभियन्ता कवि मान बज्राचार्यले बताए ।

‘त्यस स्थानमा विगत २०२२ सालमा मेरो पहलमा धरानबाट भिक्षु–भिक्षुणी ल्याएर ठूलो बुद्ध विहार बनाउने योजना गरिए पनि सफल हुन सकेको छैन । यदि विहार बनाउन सके वराहक्षेत्र घुम्न र वराह भगवानको दर्शन गर्न आउनेले ढुङ्गामा अङ्कित बुद्धको दर्शनसँगै बुद्धको पवित्र वचन पनि पढेर आनन्द लिन सक्थे’ कवि बज्र्राचार्यले, ‘तर जथाभावी मान्छे आएर बसोबास गर्ने र सम्झाउँदा पनि अटेर गरेको हुँदा बुद्ध विहारको काम बीचैमा रोकियो ।’

त्यहाँ रहेको मुख्य बुद्धको चित्र भएको ढुङ्गाको वरिपरि अहिले घाँसपात बढेर पूरै छोपेको छ भने पञ्चशिल वचन भएका अन्य ढुङ्गा चाहिँ देखिने गरी रहेको स्थानीय सामाजिक सम्मान समितिका अध्यक्ष तथा उक्त स्थानको संरक्षण र सम्बद्र्धनमा लागेका पहलकर्ता वराहक्षेत्र–२ का विदुर भट्टराईले बताए ।

पवित्र सप्तकौशिकी (कोशी नदी) किनार र मनोरम प्राकृतिक हरियालीयुक्त जङ्गलको बीचमा रहेको सो स्थानको सरसफाइ गरी रङरोगन मात्र गर्ने हो भने पनि वराहक्षेत्रको धार्मिक पर्यटनमा अर्को इँटा थपिने भट्टराईले बताए ।