काठमाडौँ/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए । “चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० लाग्ने छ”, प्रवक्ता वैद्यले भने ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३९७ लाग्नेछ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ र भारतबाट प्रति एसएमएस २४ लाग्नेछ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए ।