चतरा/ वराहक्षेत्रस्थित चतराधाममा लागिरहेको दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेला सकिन दश दिन बाँकी रहँदा भक्तजनको ओइरो लागेको छ ।

गत वैशाख १ गते झण्डै २० हजार भक्तजनले चतराधाम र वराहक्षेत्रस्थित सप्तकोशी नदीमा कुम्भ स्नान गरेका थिए । शनिबार झण्डै ३० हजार भक्तजनले कुम्भ स्नान गरेको आर्थिक समिति संयोजक तथा वराहक्षेत्र नगरपालिका–२ का वडाध्यक्ष हरिकृष्ण भट्टराईले जानकारी दिए । चैत महिनामा खासै भक्तजन नआएको मेलामा वैशाख लागेपछि उल्लेखनीय रूपमा भक्तजन आएको समितिको भनाइ छ ।

शनिबार कुम्भ मेलामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आइपुगेका छन् । उनीसँगै प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावत पनि सहभागी भए । प्रत्येक दिन विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेको कुम्भ मूल आयोजक समितिले शनिबारै पूर्वमन्त्री मीनेन्द्र रिजाललाई पनि स्वागत सम्मान गरेको छ ।

आर्थिक सङ्कलन हुँदै
प्रदेश १ सरकारले कुम्भ मेलालाई ५० लाख आर्थिक सहयोग घोषणा गरे पनि समितिले हालसम्म प्राप्त गर्न सकेको छैन । तर, आर्थिक स्टलले भक्तजनसँग लाखौं रकम दानपेटिका राखेर सङ्कलन गरेको छ ।

‘प्रत्येक दिन बैङ्कका कर्मचारी आएर हिसाब गरेर लान्छन्’ आर्थिक समितिका संयोजक हरिकृष्ण भट्टराईले भने, ‘हिसाब पादरदर्शी छ ।’ बिहीबारसम्म २१ लाख ६१ नगद बैङ्कमा मौज्दात गरिएको संयोजक भट्टराईले जानकारी दिए । गत वैशाख १ गतेमात्रै ३ लाख नगद दानपेटिकाबाट सङ्कलन भएको भट्टराईको भनाइ छ । एकमुष्ठ सङ्कलित रकमको तथ्याङ्क आउन बाँकी छ ।

भक्तजन बढे, व्यापार बढेन
चैत महिनाभरि झिँगा धपाउँदै बसेका स्थानीय व्यवसायीलाई कुम्भ मेलाले राहत दिन नसकेको गुनासो बढेको छ । बजार व्यवस्थापन समितिबाट ३ हजार ५ सयदेखि ७ हजार ५ सयसम्म लगानी गरेर स्टल खरिद गरेका व्यवसायी कतिपयले व्यवसायबाट स्टलमा परेको रकम पनि उठाउन नसकेको गुनासो गरेका छन् । बिचौलियाको चलखेलमा परी ३० देखि ४० हजारसम्म रकम तिरेकाको बिल्लीबाठ छ ।

त्यतिमात्र होइन व्यापार गरिएला भनेर ६० हजारसम्म मासिक भाडा तिरेर स्थानीयका घरबहालमा लिएका व्यापारी ‘व्यापार कस्तो हुँदैछ’ भन्ने मुडमा छैनन् । वैशाख लागेपछि भक्तजन बढे पनि लगानी उठ्न सक्ने छाँटकाँट नदेखिएको स्थानीय व्यापारी शङ्कर राई बताउँछन् । अर्थोपार्जन गर्ने उद्देश्यले कुम्भ मेलाका लागि मौसमी व्यापार गरेका अधिकांश व्यवसायीले सहकारीबाट लिएको ऋण तिर्न नसक्ने गुनासो गरिरहेका छन् । ‘ऋण ननिकाल्नेले पनि ४०–५० हजार निकालेका छन्’ स्थानीय विजय भट्टराईले भने, ‘कुम्भले कमाइ होला भनेको ऋण लाउने भयो ।’

कुम्भ मेलामा कमाइ होस् भनेर श्रीमतीका लागि पसल खोलिदिएका स्थानीय पवन ठाकुरले पनि भनेजस्तो व्यापार नभएपछि निराश भएको गुनासो पोखे । ‘सातुसामल बोकेर तीर्थ आउने भक्तजनलाई कुम्भ मेलामा भात पानी सबै फ्री छ, किनेर पनि के खाने ?’ व्यवसायी सूर्य राईले भने, ‘व्यापारीकै ठाउँमा फ्रीमा भात–पानी बाँडेपछि हामीले के व्यापार गर्नु ?’ उनले निःशुल्क वितरण गर्नेहरूलाई व्यापारीभन्दा टाढा लगेर राख्नुपर्ने बताउँदै आएका छन् । तर उनको गुनासो कसले सुन्ने ?