लक्ष्मीमार्ग । बेलवारीको दक्षिणी भेगका किसानलाई खेती गर्न सहज बनाउन सिचाइ नहर निर्माण भएको छ । सुख्खा याममा पनि खेती गर्न सहज होस् भन्ने उदेश्यले एशियाली विकास बैंकले यस स्थानमा नहर निर्माण गरेको हो ।

मोरङको बेलबारी वडा नम्बर १० को माटिगाउँ कुइरी खोलामा ४ सय ७५ मिटरको लामो बाँध निर्माण गरिएपछि किसान हर्सित भएका छन् । नहर भत्किएर आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि राहत पुगेको छ । एशियाली विकास बैंकको ३ करोड ९० लाखमा निर्माण गरिएको बाँधबाट ३ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने निर्माण समितिका अध्यक्ष धर्मेन्द्र लिम्बूले बताए ।

पृथ्वी इन्जिनियर्स एन्ड विल्डर कन्ट्रक्सनले निर्माण गरेको उक्त नहर तयारीको अन्तिम चरणमा पुगेको निर्माण समतिका अध्यक्ष धर्मेन्द्र लिम्बूले बताए । सो नहर सञ्चालनमा आएपछि बेलबारी नगरपालिकाका किसानलाई खेती गर्न सहज हुने उनले बताए ।

‘सुख्खा मौसममा खोलामा पानीको बहाब कम हुन्छ’, अध्यक्ष लिम्बूले भने, ‘बाँध उठाएर पानी जम्मा गरेर नहरमा पानी जाने वातावरण बनाउँदै छौँ ।’ सो नहरको निर्माणसँगै बेलबारीका दक्षिणी क्षेत्रका किसानले सिँचाइमा राहत पाउनेछन् ।