नेपाली फिल्म क्षेत्रका लागि २०७५ साल निराशाको वर्ष रह्यो । यो साल चलेका अधिकांश फिल्मले लगानी उठाएनन् । तर नयाँ वर्ष २०७६ को शुरुवातमा भने सकारात्मक लक्षण देखिएको छ ।

२०७५ को अन्तिममा चलेका फिल्महरू यात्रा र ए मेरो हजुर ३ ले राम्रो व्यापार गरे । यी फिल्मले राम्रो व्यापार गरेपछि फिल्मकर्मीहरू उत्साहित भएका छन् । यो वर्षको रिलिज शुरुवात पहिल्यै चलिसकेको फिल्म छक्कापञ्जा २ पुनः प्रदर्शनबाट हुने भएको छ ।

यो वर्ष पहिलो रिलिज हुने नयाँ फिल्ममा भने किरण केसी र मह सञ्चारको ‘दाल भात तरकारी’ हुने भएको छ । त्यसपछि प्रदीप भट्टराईले निर्देशन गरेको ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’, मिलन चाम्सको ‘वीरविक्रम २’, नम्रता श्रेष्ठको ‘जाइरा’, दीपकराज गिरी समूह र रोहित अधिकारीको ‘छ माया छपक्कै’, अशोक शर्माको ‘रातो टीका निधारमा’, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘मारुनी’, नम्रता श्रेष्ठ अभिनित ‘मेरो एउटा साथी छ २’, रामबाबु गुरुङको ‘कब्बडी ३’, सन्तोष सेनको ‘प्रेम गीत ३’, आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्हालिन्छ कहिले मन’ लगायतका दर्जनौं ठूला फिल्महरू यही वर्ष रिलिज हुँदैछन् ।

त्यसैगरी अनमोल केसी अभिनित ‘अनाम’ २०७६ मै आउने सम्भावना छ । झरना थापाले हरेक वर्ष एउटा फिल्म ल्याउने भनेकी छन् । उनले यो वर्ष भागवत गीता बनाउन सक्ने अनुमान छ । त्यो पनि यही वर्ष आउने सम्भावना छ । रेनाशा राईको ‘आई एम ट्वान्टीवान’ यही वर्षको लागि निर्माण गर्न लागिएको छ ।

दीपक मनाङेले निर्माण गर्नलागेको फिल्म ‘पोइ पर्यो काले’ यही वर्षको लागि सम्भावित फिल्म हो । यता हेमराज बिसीले निर्माण गर्ने फिल्म ‘घामड शेरे’ पनि यही वर्षको लागि रहेको बुझिएको छ ।

यस्तै दुई रुपैयाँ टिमले निर्माण गर्ने ‘डामाडोल’ यही वर्षको लागि हुनसक्ने सम्भावना छ । छविराज ओझा र भाष्कर ढुङ्गानाले पनि यही वर्ष फिल्म बनाउने चर्चा छ ।