धरान/ वराह ज्वेलरी इण्डष्टिूज प्रालिले पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा पनि ज्वेलरी र डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ ।

बुधबारबादेखि वराहले ज्वेलरी र डिपार्टमेन्ट स्टोर शुभारम्भ गरेको छ । शाखाको उद्घाटन साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याक्खा र प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले संयुक्त रूपमा गरे ।

पूर्वको पर्यटकीय क्षेत्रमा व्यवस्थित सपिङ मलहरू नहुँदा उपभोक्ताले भनेजस्तो सामग्री खरिद गर्न नसकेको गुनासो गर्दै आएका थिए । त्यहाँ आउने पर्यटक तथा स्थानीयबासीलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्रालिले ज्वेलरी र डिपार्टमेन्ट सञ्चालनमा ल्याएको प्रालिका सञ्चालक एवम् धरान शाखा प्रमुख मानबहादुर दियालीले बताए ।

स्थानीयको अनुरोधलाई मध्यनजर गर्दै डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको उनले बताए । वराह विजनेस गु्रपले नुनदेखि सुनसम्म बिक्री गर्दै आइरहेको छ । देशका विभिन्न स्थान तथा विदेशमा पनि वराहले सेवा प्रवाह गर्दै आइरहेको छ । भेडेटारको पर्यटन, आर्थिक, सामाजिक विकास गराउने उद्देश्य रहेको प्रालिले जनाएको छ ।

प्रालिले भेडेटारमा डिपार्टमेन्ट स्टोर र ज्वेलरी सञ्चालनमा ल्याएर गाउँबासीलाई सुविधा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष याक्खाले बताए । २०५२ सालदेखि सञ्चालनमा आएको वराहको नेपाल बाहिर हङकङ, दुबई, युकेसम्म शाखा सञ्चालित छ ।