मधुमल्ला/  मोरङको मिक्लाजुङ गाउँपालिका–६ का विपन्न परिवारका मनबहादुर मगरको परिवारलाई शनिबार मिक्लाजुङ गाउँपालिकाले नगद तथा जिन्सी सहयोग प्रदान गरेको छ ।

यसक्रममा दुई महिनादेखि झाडापखाला लागेर बिरामी भएका ४० वर्षीय रत्नबहादुर मगरलाई गाउँपालिकाको समन्वयमा विराट नर्सिङ होमले निःशुल्क उपचार गराई दिने भएको छ । मनबहादुरको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको मिक्लाजुङ गाउँपालिकाका–६ का वडाध्यक्ष बुद्धिलाल निरौलाले बताए ।

रत्नबहादुरको परिवारलाई गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, वडाध्यक्षहरू निरौला, शुशिलराज चौहान, नगिन्द्र कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी, शिक्षा अधिकृत काँशिनाथ खनाल, स्वास्थ्य संयोजक चिन्तामणि पोखरेले, कृषि अधिकृत मोहन मिश्रले जनही एक–एक हजारका दरले नगद प्रदान गरेर । यसक्रममा स्थानीय नरेन्द्रप्रसाद ढुङ्गेलले एक हजार र डिल्ली खतिवडाले पाँच सय, व्यवसायीहरू दिनेश पौडेलले २ हजार, रुद्र भण्डारी, इन्द्र श्रेष्ठले एक–एक हजार र महाप्रसाद खड्काले पाँचसय सहयोग सङ्कलन गरी आर्थिक सहयोग गरिएको उपाध्यक्ष सरला राईले बताइन् ।

गाउँपालिकाले नगद पाँच हजार बढीको चामल, नुन तेल, साबुनलगायत आवश्यकीय समग्री प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले विपन्न परिवारको घरसमेत निमार्ण गरिदिने बताए । घर निर्माणका लागि बिएफओ र मिक्लाजुङ कन्स्ट्रक्सनले निःशुल्क बालुवा, गिट्टी र पुराई गर्ने, युवा व्यवसायी इन्द्रकुमार श्रेष्ठले आवश्यक ढुङ्गा र अन्य बाँकी रड, सिमेन्ट, जस्ता लगायतका अन्य सामग्रीहरू गाउँपालिकाले उपलब्ध गराई २–३ कोठाको पक्की घर निर्माण गरिने र उक्त राहत वितरण कार्यक्रमको संयोजन मिक्लाजुङ गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक तथा मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता नगिन्द्र कार्की (नवीन) ले बताए ।