मधुमल्ला/ दोस्रो मिक्लाजुङ आमन्त्रित भेट्रान्स फुटबल खेल मङ्गलबारदेखि शुरु भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा जारी उद्घाटन खेलमा बिर्तामोड भेट्रान्स झापा विजयी बनेको छ । बिर्तामोडले पचरुखी भेट्रान्स सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गर्यो ।

पचरुखीका सुरज श्रेष्ठले गोल गरे भने बिर्तामोडबाट लक्ष्मी लिम्बू र सञ्जय आले मगरले गोल गरे । एकमात्रै गोल पचरुखीबाट सुरज श्रेष्ठले गरे । खेलको म्यान अफ दी म्याच बिर्तामोडका सञ्जय आले मगर घोेषित भए । खेलको उद्घाटन मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष तथा खेलकुद विकास समितिकी अध्यक्ष सरला राईले गरिन् ।

नवदीप युवा क्लबको आयोजनामा जारी खेलमा बुधबार हाम्रो भेट्रान्स विराटनगर विजयी बन्यो । विराटनगरले राजघाट भेट्रान्स उर्लाबारीलाई १–० गोल अन्तरले पराजित गरेको छ । विराटनगरका सन्तोष बस्नेतले निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच हाम्रो भेट्रान्स विराटनगरका सन्तोष बस्नेत घोषित हुँदै ट्रफी पाए ।

बिहीबारको खेल आयोजक र भारतको कालेङ्पोङ भेट्रान्स भारतबीच हुने खेल संयोजक सन्तकुमार खड्गीले जानकारी दिए । प्रतियोगितामा नेपालका ७ र भारतको एक गरी ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष तारानाथ मगरले जानकारी दिए । खेलको फाइनल वैशाख १७ गते हुने आयोजकले जनाएको छ ।

बेलबारी विजयी

मधुमल्ला/ नववर्ष २०७६ को अवसरमा सिर्जनशील युवा क्लब मिक्लाजुङ–६ ले लालमाटीमा आयोजना गरेको ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६ फुटबल प्रतियोगिता’ अन्तर्गत मङ्गलबार भएको खेलमा बेलबारी क्लब विजयी भएको छ ।

बेलबारीले इटहरी तालतलैयालाई १–० ले हराउँदै विजयी भएको हो । पहिलो हाफको ३० औं मिनेटमा जर्सी नं. ९ का रेशम भुजेलले गरेको निर्णायक गोललेनै फाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच बेलबारीका रेशम भुजेल घोषित भए ।

१२ गते हुने फाइनल खेल बेलबारी र लेटाङ फुटवल क्लबबीच हुने आयोजकले जानकारी दिएको छ । खेलको विजेताले नगद १ लाख ५ हजार ५ रुपैयाँ ट्रफी, प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ५५ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।