इटहरी/ जीवन मुक्तिको आशामा २०६३ सालदेखि इसाई धर्ममा लागेका इटहरीका अभिषेक कार्की अहिले विरक्तिएका छन् । उनी अहिले क्रिस्चियनले गर्दा आफ्नो बिल्लीबाठ भएको र चर्चमा पीडामा परेको भन्दै न्यायको खोजीमा छन् ।

उनले कोरियाली धर्म प्रचारक सङ जा हाङका कारण वैशाख ९ गते आफ्नी श्रीमतीमाथि कुटपिट भएको उनको आरोप छ । उनले आफू पीडित बनेको भन्दै प्रहरीमा उजुरी दिए तर प्रहरीबाट आफूले न्याय नपाएको कार्कीको गुनासो छ । कार्कीले भने, ‘चर्चभित्रको चरम लापरबाहीबारे प्रश्न गर्दा हेला गरेर श्रीमतीमाथि कुटपिट गरे ।’

परिवारले अंशस्वरूप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाएको उनले सुनाए । आफूलाई चर्चका पास्टरहरूले परिवार नियोजन गर्न लगाएपछि विराटनगरको मेरी स्टोप सेण्टरमा परिवार नियोजन गरेको उनको भनाइ छ । ‘मलाई चर्चले साह्रै अन्याय गर्यो’ उनले दुःखेसो गदै भने, ‘मैले चर्चका ठूलाहरूले जे जे भन्यो त्यही मान्दा आज मेरो बिल्लीबाठ भयो ।’

कोरियाली धर्म प्रचारक सङ जा हाङले ‘सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ’ भन्दै परिवार नियोजन गर्न लगाएको र जे जे भन्यो त्यो मानेर आफूले दुःख पाएको उनको गुनासो छ । धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै आरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ । उनले ‘यिनै धर्मका पादरीहरूले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन ?’ जस्ता १५ वटा प्रश्न गरेका थिए । जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण शुरु भएको उनको उनको भनाइ छ ।

वैशाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी–२ की अनु राईमाथि आक्रमण गरेको थियो । तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको भन्दै कोरियन नागरिक विरुद्ध प्रहरीमा उजुरी परेको छ । कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ । भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हाङका कारण परिवारभित्रै विग्रह शुरु भएको हो । लामो समयदेखि ‘इन्टरनेसनल वी लभ यु’ फाउण्डेसनको नाममा नेपाल छिरेका सङ जा हाङ इसाई धर्म प्रचारमा सक्रिय हुँदै आएको बताइएको छ । हाङले ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत् धर्म प्रचार गरिरहेका बताइएको छ ।

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउण्डेसनले काम गरिरहेको छ । तर, फाउण्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन् । कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय इटहरीका आइतबार नै किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले भने कुटाकुट भएपछि प्रहरीमा उजुरी परेको बताए । पक्राउ गर्ने आधार नभएका कारण उनलाई पक्राउ नगरेको उनको भनाइ छ ।