धरान/ नेपाल शेर्पा सङ्घ धरान उपमहानगर समितिमा दातेञ्जी गर्जा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

धरान–१७ स्थित रिञ्जु स्मृति भवनमा बुधबार सम्पन्न चौथो नगर अधिवेशनले उपाध्यक्ष प्रेम गोले शेर्पा, सचिव आङ्पासाङ खम्बाचे शेर्पा, कोषाध्यक्ष फुर्ली शेर्पालाई चयन गरेको छ । सदस्यहरूमा गमछिरी शेर्पा, दावा च्यावा शेर्पा, फुर्दिकी खापा शेर्पा, डोमा लामा शेर्पा र पदेन सदस्यमा तेञ्जिङ खापा शेर्पा छन् ।

अधिवेशनको खुलासत्रमा प्रमुख अतिथि नेपाल शेर्पा सङ्घ सुनसरीका जिल्ला अध्यक्ष गेल्बु शेर्पाले सुनसरी जिल्लामा वराहक्षेत्र, इटहरी र धरान गर ी तीन वटा नगरपालिकामा संस्थाको सङ्गठन रहेको बताए । सङ्गठन दरिलो बनाउनका लागि हरेक बैशाखको १० गते रिञ्जु स्मृति भवनमा उपस्थिति भएर स्मृति कार्यक्रम गर्नुपर्ने र सोही अनुसार अधिवेशनको मितिसमेत तोकिएकाले अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यकारी नियम बनाइएको शेर्पाले बताए ।

जिल्ला अध्यक्ष शेर्पाले देशको संविधानमा समानुपातिक समावेशिताको कुरा लेखिए पनि राजाकै पालाजस्तो व्यक्ति विशेष तानेर राखेको र समानुपातिकमा नातागोता भर्ती गरेको आरोप उनको आरोप छ । अन्तरिम संविधानअनुसार वर्तमान संविधान नभएको शेर्पाले बताए । आफूसमेत वर्तमान नेकपा समर्थक भए पनि आदिवासीको अधिकार नसमेटिएकोमा विरोध रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

विशेष अतिथि एवम् हिमालयन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्टु शेर्पाले गुम्बासँग करिब ७–८ करोडको आवास भवन बनिरहेको जानकारी दिए । उनले ५० लाखसम्म आर्थिक सहयोग गर्ने दाताको शालिक निर्माण गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

गुम्बामा आवाससहितको सभा भवन स्थापनापछि भाषा लिपिको प्रशिक्षण गरिने योजना रहेको बताउँदै गुम्बाका अध्यक्ष शेर्पाले नगर समितिले धरान उपमहानगरमा भाषा कक्षा सञ्चालनका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । वैशाख १० गते रिञ्जु स्मृति दिवससहित प्रथम महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको दिनसमेत रहेकाले सोही दिन उपमहानगर समितिको अधिवेशन गरिएको बताइएको छ ।

गुम्बाका अध्यक्ष शेर्पाले वर्तमान संविधानमा खस आर्यलाई मात्र संविधानमा लेखेर शेर्पासहित अन्य समुदायलाई गैर संवैधानिक जाति बनाएको आरोप लगाए ।