विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५१ वटा सामुदायिक विद्यालयले विद्यार्थी टिकाउन नसक्दा ठूलो सङ्ख्यामा विद्यार्थीले बीचैमा कक्षा छाड्ने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को भर्ना अभियानमा यहाँका ५१ वटा सामुदायिक विद्यालयमा भर्ना भएकामध्ये २ हजार ३ सय ३ जना विद्यार्थीहरूले बीचैमा कक्षा छाडेर गए । महानगरपालिका शिक्षा शाखाको अभिलेखअनुसार नगरका ५१ सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म १७ हजार १ सय ५ जना विद्यार्थी भर्ना भएकामध्ये १४ हजार ८ सय २ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएको देखिन्छ । सबैभन्दा बढी प्राथमिक तहमा भर्ना भएका विद्यार्थीले विद्यालय छाडेर गएको देखिएको छ । प्राथामिक तहमा १७.५ प्रतिशित विद्यार्थीले कक्षा छाडेको महानगरपालिकाको शिक्षा शाखाको अभिलेखमा उल्लेख छ । प्राथमिक तहमा ८ हजार ३ सय ८ जना भर्ना भएकामध्ये ६ हजार ८ सय ४९ जना मात्र परीक्षामा सामेल भए भने १ हजार ४ सय ५९ जनाले कक्षा छाडे ।

त्यस्तै निम्नमाध्यमिक तह कक्षा ६ देखि ८ सम्म ९.९३ प्रतिशित विद्यार्थीले कक्षा छाडेका छन् । जसमा ४ हजार ८ सय ६० जना भर्ना भएकामध्ये ४ हजार ३ सय ७७ जनामात्र परीक्षामा सामेल भए भने ४ सय ८३ जना विद्यार्थीले कक्षा छाडेको अभिलेखमा देखिन्छ । यसैगरी माध्यमिक तहमा ३ सय ६१ जना विद्यार्थीले कक्षा छाडेका छन् । ३ हजार ९ सय ३७ जना भर्ना भएकामध्ये ३ हजार ५ सय ७६ जनामात्र परीक्षामा सामेल भएका थिए ।

भर्ना भएका विद्यार्थीलाई व्यवस्थित गर्न नसक्नु र गुणस्तरीय शिक्षा दिन नसक्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरू टिक्न नसकेको अभिभावकको भनाइ छ । सामुदायिकमा भर्ना भएका केही विद्यार्थी निजीमा पनि गएको देखिएको छ । महानगरमा १९ वटा धार्मिक विद्यालय रहेकोमा भर्ना भएका सबै विद्यार्थी परीक्षामा सामेल भएको शिक्षा शाखा अधिकृत दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । ६ कक्षादेखि १० सम्म ३ सय ९५ जना विद्यार्थी भर्ना भएकोमा शतप्रतिशत विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउन नसक्नु अहिले महानगरपालिका क्षेत्रमा रहेका स्कुलको चुनौतीको रूपमा रहेको शिक्षा शाखा अधिकृत खतिवडाले बताए । ‘भर्ना भएजति विद्यार्थीलाई सामुदायिक स्कुलले परीक्षामा सामेल गराउन सकिरहेका छैनन्’ –उनले भने । यस वर्षको भर्ना अभियानलाई महानगरका १९ वटै वडाहरूमा प्रभावकारी बनाउने तयारीको साथ लागिपरेको उनले बताए । ‘महानगरका हरेक सामुदायिक विद्यालयका कक्षाहरूमा ३० जनाको दरले विद्यार्थी बढाउने लक्ष्य रहेको छ’ उनले भने, ‘भर्ना भएका विद्यार्थीलाई टिकाउन प्रभावकारी कार्यक्रम ल्याउनेछौं ।’

विराटनगरमा सामुदायिक ५५, धार्मिक विद्यालय १९, बालविकास केन्द्र १ सय ५०, सामुदायिक सिकाइ केन्द्र ११ र संस्थागत विद्यालय १ सय ५ गरी जम्मा ३ सय ४० वटा विद्यालय रहेको महानगरपालिका शिक्षा शाखा अधिकृत खतिवडाले बताए ।

महानगरपालिकाले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने मूल नाराको साथ भर्ना अभियान चलाएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरका सबै वडाहरूमा प्रभावकारी रूपमा भर्ना अभियान सञ्चालन गर्ने बताए । ‘महानगरले घरदैलो अभियानसँगै अभिभावक जागरण प्रचार–प्रसार कार्यक्रम अघि सारेको छ’ उनले भने, ‘भर्ना भएका विद्यार्थीलाई टिकाउन महानगरले विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।’