आज वैशाख १२ गते कसैको जन्मदिन होला, कुसैका लागि खुशीको दिन होला । तर समग्रमा हेर्दा वैशाख १२ गते मुलुकका लागि कालो दिन हो । २०७२ साल आजकै दिन ८ हजार ७ सय ९२ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ११ जना घाइते भएको थियो । २ हजार ६ सय ५६ घरहरू पूर्णरूपमा ध्वस्त भएको दिन हो आज । पश्चिम नेपाल गोरखाको बारपाक केन्द्रविन्दु बनाएर वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले करिब ७ लाख थप गरिबहरू थपिदिएको दिनलाई आम नेपालीले उज्यालो दिनको रूपमा मनाउन सक्दैनन् ।

थिलथिलो भएको मुलुकलाई अझै पनि पुनः यथास्थितिमा ल्याउन सरकार सफल भएको छैन । आज भूकम्पको ४ वर्ष बितेको छ । भूकम्पपीडित अझै पनि पालमा जीवन बिताइरहेको अवस्था छ । विपद्को ४ वर्षसम्म पनि पीडितले उचित बास नपाउनु गरिब देशको विडम्बना हो । हो, भूकम्पका घाइतेलाई उद्धार गर्ने, उनीहरूका लागि राहत जुटाउने नाममा ठूला राजनीति भए । राहतदेखि त्रिपालसम्म राजनीतिको गन्ध फैलियो । केही व्यक्तिहरूले विपद्लाई निजी अवसरको रूपमा प्रयोग गरे । सरकारले पुनःनिर्माण प्राधिकरण खोल्यो । जनतामा केही आशा त्योबेला पलायो तर पुनःनिर्माण प्राधिकरण पीडितको न्यायका लागि भन्दा पनि राजनीतिक भर्तीकेन्द्र बनेको जनतालाई जगजाहेर नै छ । मुलुकलाई महाविपद् परे पनि जसोतसो ट¥यो । दातृनिकायले दिएको अर्बौं सहयोग अनुदान आज ती पीडितसम्म राज्यले पु¥याउन नसक्नु ठूलो विडम्बना हो ।

विगतमा सरकारको अस्थिरता, संविधान निर्माणमा समय व्यतित गर्नुपरेका कारण पीडितहरूलाई न्याय दिन नसकिएको भन्दै सरकार पञ्छियो । तर यतिबेला स्थिर सरकार बनेको छ । ४ वर्षदेखि पीडादायी जीवन बिताउँदै आएका भूकम्प पीडितहरूलाई अब पनि सरकारले उचित बासको व्यवस्थापन गर्न नसक्ने हो भने उनीहरूले धिक्कार्नेछन् । उनीहरूको पीडामा यो बहुमतको सरकारले मलहम लगाउनु पर्दछ । वैशाख १२ गतेको त्यो कालोदिन हामी बिर्सन सक्दैनौं । जसले हजारौं नेपालीहरूको खुशी खोसेको छ । भूकम्प प्रतिरोधी भौतिक संरचनाको अभावले बाँच्नेहरूले पनि अर्बौंको क्षति व्यहोर्नुपरेको छ । नेपाल अझै पनि भूकम्पीय जोखिमको क्षेत्र भएको भूगर्भविद्हरूले सार्वजनिक गरेकाले अबका दिनमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सरकारले जनचेतानामूलक कार्यक्रम ल्याउनु जरुरी छ । भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन स्थानीय सरकारहरूले कडाइका साथ नियम लागू गर्नुपर्दछ । ता कि अबका दिनमा त्यो २०७२ वैशाख १२ को कालोदिनको फेरि सामना गर्नु नपरोस् ।