ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा तेस्रो थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय चेस प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको केन्द्र थेचम्बुमा शुरु भएको प्रतियोगिताको गाउँपालिका प्रमुख केशर मेन्याङ्वोले गरे । 
 
वैशाख १४ गतेसम्म सञ्चालन हुने चेसमा नेपाल र भारतका एक सय चारजना खेलाडीको सहभागिता रहेको ताप्लेजुङ बुद्धिचाल सङ्घका अध्यक्ष राजकुमार मेन्याङ्वोले जानकारी दिए । नेपाल च्याम्पियनहरू पुरुषोत्तम चौंलागाईं, सुहाना लोहनी, मदनबाबु कायस्थ र पूर्वच्याम्पियनहरूसहित एशियाकै प्रतिष्ठित चेस प्रतियोगिता पाश्र्वनाथ च्याम्पियन सिक्किमका राहुल गुरुङ जस्ता चर्चित खेलाडीहरू थेचम्बुमा भेला भएका छन् । गाउँपालिकाको ८ लाख आर्थिक सहयोग तथा ताप्लेजुङ बुद्धिचाल सङ्घको आयोजनामा प्रतियोगिता भएको हो । कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका प्रमुख केशर मेन्याङ्वोले खेल पर्यटकको विकासका लागि आफूहरूले सहयोग गरेको बताए ।
 
‘ताप्लेजुङमा नगरपालिका, गाउँपालिकाहरूले खेल विकासका लागि भन्दै फुटबल, भलिबललगायतमा लाखौँ खर्च गरिरहेका छन् । तर हामी हाम्रो गाउँपालिकालाई बुद्धिचाल खेलको ‘हब’ बनाउने उद्धेश्यले आयोजना गरेका हौँ’–गाउँपालिका अध्यक्ष मेन्याङ्वोले भने । 
 
खेलकै लागि विभिन्न स्थानका खेलाडी आउने भएकाले पनि यस क्षेत्रको व्यापार–व्यवसाय वृद्धि भएको उनको बुझाइ छ । सामान्य व्यवस्थापनले पनि हुने यस खेलले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई फाइदा पुर्याउने चेसका सिनियर आर्विटर भवानी मेन्याङ्वोले सुनाए । उनले बौद्धिक खेलको प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गरेर उदाहरणीय कार्य गरेको धारणा राखे ।
 
खेलाडी उत्पादनको हिसाबले पनि धेरै राम्रो काम भएको अर्का आर्विटर हरि गुरुङको भनाइ छ । यता खेलाडीहरूले भने छोटो–छोटो समयमा चेस रेटिङ प्रतियोगिता हुनुपर्ने माग गरेका छन् । ‘विभिन्न स्थानमा नृत्य, गायन सिक्नका लागि प्रशिक्षण केन्द्रहरू खोलिएका छन् । त्यसरी नै चेसका लागि पनि प्रशिक्षण केन्द्रको आवश्यकता छ’ –खेलाडी सुशीला गुरुङले भनिन् ।
 
पहिलो दिन सोमबार उद्घाटन मात्रै भएको थियो । खेल भने मङ्गलबारबाट शुरु भएको छ । यसअघिका वर्षहरूमा यो खेल स्थानीय युवाहरूको अगुवाइमा सञ्चालन भएको थियो ।  खुल्ला प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् भने द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३५ र ३० हजारका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । १५ औं स्थानसम्ममा अटाउनेलाई नगद पुरस्कारको व्यवस्था गरिने प्रतियोगिता निर्देशक मेन्याङ्वोले जानकारी दिए । 
 
खुल्लातर्फ चौथो हुनेले २१ हजार, पाँचौंले २०, छैठौंले १९, सातौंले १८, आठौंले १७, नवौंले १६ र दशौंले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा सोभन्दा ११ औं स्थानदेखि १५ औंसम्म हुनेले जनही १२ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन् ।