धनकुटा/ महालक्ष्मी नगरपालिकाले चालू आर्थिक वर्षको बजेट कार्यक्रमले वडा नं. ६ मा रहेको वनझाँक्री पार्कमा आकासे पोखरी, वन झाँक्रीको प्रतिमासहित पिकनिक स्पट बनाउने कार्य थालनी गरेको जनाएको छ । 
 
वन झाँक्री पार्कमा आकासे पोखरी, वनझाँक्रीको प्रतिमासहित पिकनिक स्पटलगायत आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिकाको पहलमा ३ करोड बराबरको डिपिआर तयार गरिएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको सहयोगमा निर्माण कार्य चालू आर्थिक वर्षदेखि थालनी गरिएको नगरप्रमुख परशुराम नेपालले ब्लाष्टलाई बताएका छन् । 
 
नगरप्रमुख नेपालका अनुसार हालसम्म वडा नं. ६ जितपुर बजारदेखि २ किलोमिटर तल रहेको वनझाँक्री पार्कमा २५ मिटर लम्बाइ, १५ मिटर चौडाइ भएको आकासे पोखरी निर्माण कार्य सम्पन्न भइसकेको बताए । आकासे पोखरीसँगै हालसम्म पार्क र पोखरीसम्म जाने मोटरबाटो, पार्कको वरिपरि घुम्ने गरी खुड्किला, पिकनिक स्पटको निर्माण कार्य भइरहेको बताइएको छ ।
 
वनझाँक्री पार्कमा पहिले पनि आकासे पोखरी रहेको तर संरक्षणको अभावमा लोप भएकाले पुनः निर्माण गरिएको बताइएको छ । वनझाँक्री पार्क आफैमा ऐतिहासिक स्थल भएकाले पनि उक्त स्थलको संरक्षण गरेर उचित प्रचार–प्रसार गर्नसके आन्तरिक पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने भएकाले पिकनिक स्पटसहितको पार्क निर्माण गर्न लागिएको हो ।
 
हालसम्म ऐतिहासिक वनझाँक्री पार्कको दिगो व्यवस्थापन तथा पुनः निर्माणको लागि महालक्ष्मी नगरपालिकाले चालू आर्थिक वर्षमा ४ लाख र शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १५ लाख रुपैयाँ खर्च भइसकेको योजना शाखाले जनाएको छ । योजना शाखाका प्रमुख सन्तोष दर्जीका अनुसार हालसम्म वनझाँक्री पार्कसम्म जाने सडक, पोखरी खन्ने काम, खुड्किला बनाउन आधारलगायतको काम सकिएको र बाँकी काम असार मसान्तअगावै पूरा हुनेछ ।