सिरहा/ सिरहाको जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको छ । विगत १ वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो ।
 
५० शय्याको अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ । सरकारको घोषित नीतिअनुसार जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध हुनुपर्ने हो तर अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नागेन्द्र यादवले बताए । 
नका अनुसार अस्पतालमा १ वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन । अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्काे मूल्यमा औषधि खरिद गर्न बाध्य छन् । तर, सिरहा जिल्ला अस्पतालमा सामान्य समस्यामा प्रयोग गर्ने औषधिदेखि अत्यावश्यक स्लाइन पानीसम्म छैन । पेट दुखेर जिल्ला अस्पताल पुग्ने बिरामी पनि औषधिका लागि निजी मेडिकलतिर दगुर्न बाध्य भएका  छन् ।
 
औषधिको अभाव भएको बारेमा पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि आपूर्ति नभएको उनले गुनासो गरे । सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरिद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवले बताए ।
 
जिल्ला अस्पतालका स्टोरकिपर उमेश गौड शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्याण्डेजसम्म नभएको बताउँछन् । उनका अनुसार रुघाखोकी र ज्वरोका बिरामीलाई चाहिने एजिथ्रोमाइसिन, क्लोक्सासिलिन क्याप्सुल, सिप्रोफ्लोक्सासिन, जेन्टामाइसिन, एमोक्सिसिलिनजस्ता अधिकांश एन्टिबायोटिक्स अस्पतालमा छैन । जुकाको औषधि अलबेन्डाजोल, एलर्जीमा दिइने गामाबेन्जिन हेक्साक्लोराइड, उच्च रक्तचापका बिरामीलाई दिइने एमलोडिपिन, एटिनोलोल र सुगरका रोगीलाई चाहिने मेटफर्मिन पनि छैन । झाडापखाला र निमोनियाको औषधि पनि नभएको गौडले बताए ।
 
दुई महिनासम्म भण्डारमा थुपारेपछि एक साताअघि नगरपालिकाले स–साना दुईवटा बोरामा जीवनजललगायत औषधि प्याक गरेर अस्पताल पठायो । तर, १० दिन पनि नपुग्ने भन्दै अस्पताल प्रमुख डा. नागेन्द्र यादवले बोरा नचलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । औषधिका दुवै बोरा अस्पतालको भण्डारमा थन्किएका छन् ।
 
त्यसैगरी अस्पतालमा २५ सय पारासिटामोल ट्याब्लेट र सय थान प्यारासिटामोल सिरप, ३ सय प्याकेट जीवनजल, ५ एमएलको २० थान सिरिञ्ज, पखालामा दिइने मेट्रोनिडाजोल २५ सय ट्याब्लेट पठाएको छ । सिरहा नगरपालिकाको स्वास्थ्य शाखाका कामेश्वर परिहस्तले जिल्ला अस्पतालसहित जिल्लाका सबै ११ स्वास्थ्य चौकी र एउटा क्लिनिकलाई बराबर औषधि वितरण गरेको बताए । बाँकी औषधि पनि बाँड्दै जाने उनले बताए । १९ लाख ५० हजारबराबरको औषधि खरिदको टेण्डर आह्वान भएकोमा गौतम मेडिकोले सबैभन्दा कम ७ लाख २४ हजारमा टेण्डर पारेर औषधि खरिद गरेको परिहस्तले बताए ।
 
यता, जिल्ला अस्पताललाई औषधि पूर्ति गर्ने जिम्मा पाएको सिरहा नगरपालिकाले भने दुई महिनाअघि किनेको औषधि भण्डारमा थुपारेर राखेको छ । नगरपालिकाले ७ लाख २४ हजारको औषधि खरिद गरेर भण्डारमा थुपार्दा औषधिविहीन अस्पताल भने बिरामीलाई निजी मेडिकलतिर पठाउन बाध्य छ ।