पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरेमा रिना वस्नेतको रहस्यमय रुपमा शव फेला परेपछि अपराधी पत्ता लगाउन दवाव दिँदै आन्दोलित स्थानीयवासी र प्रहरीबीच मंगलबार पटक पटक झडप भएको छ ।

पछिल्लो समयमा सडकमा जताततै टायर बालेर आन्दोलनलाई उत्तेजित बनाएर नारावाजी गरेपछि प्रहरीसँग झडप भएको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

त्यसअघि आन्दोलित पक्षले पथरीको इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर गेट तोडफोड गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाइ फायर गरेको थियो । प्रहरीको लाठी चार्ज र आन्दोलितको ढुंगा प्रहारबाट वडा नम्वर १ का जितवहादुर लावती सहित केहि व्यक्ति घाइते भएका छन् ।

आन्दोलित पक्षले नगरपालिका विरुद्ध समेत नारावाजी गर्दै कार्यालयको गेट तोड्नुका साथै कार्यालयमा तालावन्दी गरेको छ । आन्दोलनमा सक्रिय भूमिका निर्वाह नगरको आरोपमा स्थानीयले पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत उसैगरी तालावन्दी गरेका छन् । १ नम्वर वडा कार्यालयमा समेत नारावाजी भएको छ । नगरपालिका कार्यालय, १ नम्वर र १० नम्वर वडा कार्यालय सहितका वडा कार्यालय सञ्चालन समेत वन्द भएको छ ।

नगरपालिका कार्यालयमा आएको आन्दोलित पक्षमाझ बोल्दै नगर प्रमुख दिलिपकुमार राईले रिना काण्डको यथार्थ चाँडो भन्दा चाँडो पत्ता लगाउन आफुहरुले प्रहरीलाई भनिरहेको र एकजना शंकास्पद व्यक्ति पक्राउ परेको जानकारी गराए । साथै उनले इलाका प्रहरी कार्यालय पथरीमा नयाँ कार्यालय प्रमुखको व्यवस्थापन गरेर नगरको शान्ति सुरक्षाको चुस्त व्यवस्थापन गर्न आफुहरु लागिरहेको जनाए । आन्दोलनलाई शान्तिपूर्वक संयमतामा परिणत गर्दै अपराधि नियन्त्रण गरी कारवाहीको प्रक्रियामा लानका लागि सहयोग पुर्याउन सवैसँग आव्हान पनि गरेका छन् । नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्थानीयको आन्दोलनमा सडकमा जान दवाव दिँदै नगरपालिकामा नारावाजी गरेपछि दुवै जना सहित अन्य जनप्रतिनिधि सडक हुँदै इलाका प्रहरी कार्यालय पुगेका थिए । हजारौंको भीड इलाका प्रहरी कार्यालय बाहिर र सडकमा नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर वाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

विहानैदेखि पथरी बजारका पसलहरु वन्द गरेर स्थानीय आन्दोलित वनेका थिए । १०ः३० बजेदेखि स्थानीयले यातायात समेत अवरुद्ध गरेर लगातार नारावाजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज ढुंगानाको नेतृत्वको टोलीले घटनाको छानविनको जिम्मा लिएको छ । जसमा प्रदेश प्रहरीको प्राविधिक टोली समेतले अनुसन्धान गरिरहेको उल्लेख छ । डीसएपी ढुंगानासँग संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, अगुवा समाजसेवीहरुबीच घटनाको सुक्ष्म अध्ययन र अपराध नियन्त्रणका बारेमा इलाका प्रहरी कार्यालयमा छलफल भएको थियो । छफललमा प्रहरीले अनुसन्धान जारी राखेको र अनुसन्धानमा थप सहयोग पुर्याउन आन्दोलन रोक्नका लागि प्रहरीले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले जनाए । ‘हामीले अनुसन्धानमा कसर नराखी टोली खटाएर प्रक्रिया अघि बढाइराखेका छौं । यथार्थ पत्ता लगाउने कुरामा प्रतिवद्ध छौं ।’– उनले भने । आन्दोलनरत पक्षले सो कुराप्रति विश्वस्त नबनेर आन्दोलन गरिरहेका छन् ।

पथरीशनिश्चरे नगर क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुले शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनको सक्रियतामा प्रश्नचिन्ह उठाएपछि रिना वस्नेतको रहस्यमय मृत्युसँग जोडिएका संकास्पद अवस्थाका सुन्दरहरैंचा ३ वस्ने ३८ वर्षीय कमल नेपाललाई सोधपुछ अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले जनाए ।

पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु भएको शव वैशाख ७ गते विहान स्थानीयले फेला पारेका थिए । रिनालाई दिनभरी र राती अवेरसम्म पनि फोन गरेका रिनाका केटासाथी नेपाललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वैशाख ६ गते राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला परिनसकेको बताएपनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरेका छन् । रिनाका जेठाजु दुर्गावहादुर वस्नेतले टाउकामा प्रहार गरी हत्या गरेको बुझिने दावी गरे ।

स्थानीयवासी निकै त्रसित वनेको बेला प्रहरी प्रशासनको अनुसन्धान गर्ने तथा शान्ति सुरक्षा प्रदान गर्ने कुरामा चुस्तता नभएको भन्दै सोमवार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा संविधानसभा सदस्य चण्डीप्रसाद राई सहितका जनप्रतिनिधिको टोलीले हिजो साँझसम्म प्रहरीसँग छलफलमा बसेको थियो । नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १० नम्वर वडाध्यक्ष सागर राई सहितका जनप्रतिनिधिले शंकास्पद व्यक्तिलाई चाँडो नियन्त्रणमा लिएर अनुसन्धानलाई चुस्त बनाउन निर्देशात्मक सुझाव दिएका थिए । पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक वस्नेत, लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हार्टका समेतका प्रतिनिधि जनप्रतिनिधिसँग त्यहाँ छलफलमा थिए । त्यसपछि प्रहरी प्रमुख वजगाईंले मंगलबार विहानसम्ममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने प्रतिवद्धता जनाएका थिए । सोमवार विहानैदेखि उपप्रमुख वास्तोलाको अगुवाईमा जनप्रतिनिधिहरुले प्रहरी कार्यालयमा पुगेर अपराधी पत्ता लगाउने कुरामा सक्रिय हुनु पर्ने आवश्यकता औंल्याउँदै त्यसमा नगरपालिकाले सवै पक्षबाट सहयोग पुर्याउने जनाएका थिए ।

नगर उप्रमुख वास्तोलाले केही समय यता सुरक्षा सक्रियता कमजोर भएपछि नगरपालिकालाई समेत चिन्तित वनाएको जनाउँदै प्रहरीलाई सक्रिय गराउन आफुहरु लागिपरिरहेको जनाइन् । तर जिल्ला प्रहरी कार्यालयले पनि घटनाको अनुसन्धानमा चुस्तता नदेखाएको टिप्पणी गरिन् ।

पथरी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हार्टको अगुवाईमा स्थानीयले प्रहरी र नगरपालिका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका थिए । सोमवार नै पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति बनाएर यातायात वन्द गरेर स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

यसै  विच छानविन  समिति बने पछि अवरूद्ध  यातायात शुरूचारू भएकाे पथरीशनिश्चरे नगरका मेयर दिलिपकुमार राइले जानकारी दिए ।