इनरुवा/ सुनसरीमा चालू आर्थिक वर्षमा करणी र लागूऔषध मुद्दा बढ्दो क्रममा रहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।
 
अदालतले सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा करणी र लागूऔषधको मुद्दा बढ्दो क्रममा रहेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले बताए । 
 
आदलतमा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा करणीसम्बन्धी ९३ वटा मुद्दा दर्ता भएको र ९५ वटा लागूऔषध सम्बन्धी मुद्दा आएको आदालतका १ नम्बर न्यायाधीश पुरुषोत्तम ढकालले बताए ।
 
अदालतमा साउनमा १२ वटा, भदौदेखि चैतसम्म ८१ वटा करणीसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत सुनसरीको तथ्याङ्कले देखाएको छ । अदालतमा आएको करणीसम्बन्धी मुद्दामध्ये ६७ वटा मुद्दा फैसला भएको र अरु मुद्दा चालू अवस्थामा रहेको न्यायाधीश ढकालले बताए । त्यसैगरी अदालतमा साउन महिनामा १२ वटा र भदौदेखि चैतसम्म ८३ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । 
 
जिल्ला अदालत सुनसरीमा दर्ता भएको मुद्दामध्ये १ सय ५७ वटा मुद्दा फैसला भएको १ नम्बर न्यायाधीश ढकालले बताए । फौजदारी मुद्दाका अरोपितहरू फरार रहँदै आएका कारण यससम्बन्धी मुद्दा किनारा लाग्न नसकेको अदालतका श्रेस्तेदार पोखरेलले बताए ।