फिल्म ‘हजार जुनीसम्म’ को ‘एमजी रोडैमा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । 
 
सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत र नवनायक अखिलेश प्रधानले नृत्य गरेका छन् ।
 
मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा सिवाकोटीकै शब्द तथा सङ्गीत रहेको छ । सङ्गीत संयोजन राजन इशानको रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्ममा स्वस्तिमा, सलोन र नवनायक अखिलेशसँगै आर्यन सिग्देल, प्रियङ्का कार्की, सञ्चिता लुइटेल, शिवहरि पौडेल, बालकलाकार अनुभव रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
 
विकासराज आर्चायले निर्देशन गरेको फिल्ममा विशाल चाम्लिङको लगानी रहेको छ । फिल्मको कथा निर्माता चाम्लिङको रहेको छ भने पटकथा निर्देशक आचार्य र सामिप्य तिमिल्सिनाले तयार पारेका छन् । पुरुषोत्तम प्रधानले छायाङ्कन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म साउन ३० गतेदेखि प्रदर्शन हुँदैछ ।