बिर्तामोड/ मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम अवस्थामा पुगेकोे बताएको छ । 
 
प्रतियोगिता अन्तर्गत वैशाख १२ गते हुने उद्घाटन खेलमा अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेण्टरसँग भिड्ने भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजकले सशक्त मानिएको दाउफिन्ससँग खेल्ने भएको हो । पत्रकार सम्मेलनमा आयोजकले गोल्डकपमा सहभागी टिम सार्वजनिक गरेको छ । आयोजकका अनुसार गोल्डकपमा पारो एफसी भुटान, रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सिएमजी सङ्कटा क्लब, च्यासल युथ क्लब, धरान फुटबल क्लब र माइभ्याली फुटबल क्लब गोल्डकपमा सहभागी छन् । 
 
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेण्टरका अध्यक्ष मीनबहादुर बस्नेतले ९० प्रतिशत तयारी पूरा भएको बताए । दुई दिनभित्र सम्पूर्ण तयारी पूरा गर्ने आयोजकको दाबी छ । आर्थिक उपसमितिका संयोजक गङ्गालाल गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न ८५ लाख खर्च हुनेछ । यसपटक करिब चार हजार दर्शक अट्ने बाँसको प्यारापिट बनाइएकाले कम्तिमा २० लाख सङ्कलन हुने अपेक्षा गरिएको छ । खर्चको ५० प्रतिशत रकम सङ्कलन भइसकेको बताएका उनले इ–सेवाबाट टिकेटिङको व्यवस्था गरिएको जानकारी दिए ।
 
गोल्डकपका संरक्षक मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले खेल महत्वपूर्ण विषय भएकाले नगरले गोल्डकपलाई निरन्तरता दिँदै लैजाने बताए । नगरभित्र हुने खेलकुदको विकासमा नगरपालिका तत्पर रहने बताउँदै उनले गोल्डकपलाई साझा सम्पत्तिको रूपमा ग्रहण गरेर ऐतिहासिक बनाउन आग्रह गरे । फुटबलको क्रेज मेचीनगरमा अत्यधिक रहेको भन्दै उनले अर्को वर्ष मैदानको स्तरोन्नति र पक्की प्यारपिट निर्माण हुनेसमेत दाबी गरे ।
 
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, पूर्वअध्यक्ष डिल्लीराम घिमिरे, मुख्य प्रायोजक मेची नेत्रालयका डा. शरदचन्द्र राईलगायतले गोल्डकपका बारेमा आफ्ना धारणा राख्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलरक्षक र राइजिङ प्लेयरले जनही २१ हजार पाउनेछन् ।