काँकडभिट्टा/ झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित ब्लु हेवन इङ्लिस स्कुल अनुमति बिना विद्यालय सञ्चालन भएको भेटिएको छ ।
 
बुद्धशान्ति गाउँपालिका–३ स्थित ब्लु हेवन इङ्लिस स्कुल भव्यरूपमा भौतिक संरचना निर्माण गरी विद्यालयले बुद्धशान्ति गाउँपालिकाबाट अनुमति पत्र प्राप्त नगरी धमाधम विद्यार्थी भर्ना लिन थालेको हो  । ब्लु हेवन  इङ्लिस स्कुल अर्जुनधारा नगरपालिकाबाट स्थानान्तरण भएर बुद्धशान्ति आएको  हो ।
 
तर विद्यालय स्थापना गर्न र स्थानान्तरण गर्नका लागि गाउँपालिकालाई अनुमति दिनका लागि अधिकार नभएको बुद्धशान्ति गाउँपालिकी उपाध्यक्ष मीरा भुर्तेलले बताइन् ।  विद्यालयका सञ्चालकहरू अनुमति लिन गाउँपालिका आए पनि गाउँपालिकाले सहमति पत्र नदिएको उपाध्यक्षको भनाइ छ । उनका अनुसार गाउँपालिकासँग विद्यालय स्थापना र स्थानान्तरणको अनुमति दिने अधिकार छैन ।
 
सोही ठाउँमा यसअघि प्राग्ना एजुकेशन फाउण्डेशन सञ्चालन भइरहेको थियो । सो फाउण्डेशनलाई बिक्री गरी सोही ठाउँमा ब्लु हेवन इङ्लिस स्कुल सञ्चालनमा आएको हो । बुद्धशान्तिका प्याब्सन अध्यक्ष विष्णु सापकोटाले स्थानीय सरकारको अनुमति बेगर स्कुल सञ्चालन गर्न नपाइने भएकाले नीति नियम पालना गर्न स्कुलपक्षलाई अनुरोध गरेका छन् । उनका अनुसार कुनै ठाउँबाट स्थानान्तारण भएर विद्यालय सञ्चालन गर्नु परे जुन क्षेत्रमा सञ्चालन हुने हो सो क्षेत्रको गाउँपालिका र नगरपालिकाको अनुमति र छिमेकी सरकारी विद्यालय र निजी विद्यालयको सहमति पत्र चाहिन्छ ।
 
बुद्धशान्तिमा हाल १७ निजी विद्यालय मात्र दर्ता भएर सञ्चालन भएको शान्ति शिक्षा शाखा प्रमुख कमल निरौलाले बताए । ‘ब्लु हेवन इङ्लिस स्कुल दर्ता प्रक्रियामा मात्र छ’ उनले भने, ‘गाउँपालिकाले दर्ता नदिएसम्म भर्ना अभियानलगायत अन्य कुनै गतिविधि गर्न पाइँदैन ।’
 
शिक्षा शाखा प्रमुख निरौलाले अनुमति नलिई कुनै गतिविधि गरेको पाइएमा गाउँपालिकाको कार्यपालिका बैठकले कानूनबमोजिम कारबाही गर्ने बताए । स्कुलका प्रिन्सिपल राजेश सेढाईंले बुद्धशान्तिले विद्यालय सञ्चालन गर्न अनुमति पत्र नदिएको र गाउँपालिकामा विद्यालय दर्ता नभएको स्वीकार गरेका छन् ।