पथरीशनिश्चरे / पथरीमा पछिल्लो समय श्रृंखलाबद्ध हत्याका घट्नाहरु भएका छन् । पछिल्लो समय पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु भएको थियो ।
शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।
रीनाका जेठाजु दुर्गावहादुर वस्नेत भन्छन् ‘रीनाको टाउकाको पछिल्लो भागमा रड या केही वस्तुले गहिरो रुपमा छेडेको देखिएको र निर्वस्त्र सडकमा भेटिएकाले हत्या नै भन्ने सहजै बुझिन्छ ।’ सुन्दरहरैंचा घर भएका उनका प्रेमीले राती अवरेसम्म रीनालाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले वताउँदै आएका छन् । साइमनले रीनाले वियर खाएर सुतेको भएपनि राती के भयो भन्ने कुरा आफुलाई थाहा नभएको जनाएका छन् ।
रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको भएपनि रिपोर्ट आउन केही दिन लाग्छ । रीनाका श्रीमान सन्तोस वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।
यस्तै नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा गत ०७५ फागुन १६ गते राती सडकमा शव फेला परेको थियो । सो घटना आत्महत्या भनेर प्रहरीले जनाएपनि त्यसप्रति स्थानीय विश्वस्त बनेका छैनन् ।
यस अघि सुस्त मनस्थितीकी रमा बरालको पथरी बजार क्षेत्रको पिपल बोटमा हत्या भएको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा बनमा पथरीशनिश्चरे १ पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको ३ वर्ष अघि हत्या भएको थियो । सो क्रममा ३ जना पक्राउ परेका थिए । सोही वनमा अर्काे व्यक्तिको पनि हत्या भएको थियो । ती हत्यामा संलग्नहरु हालसम्म पक्राउ नपरेको अवस्थाले स्थानीयमा असुरक्षाको श्रृंखाला बढ्दै गएको छ । ०७५ फागुनमा नगरको जिरिखिम्ती टोलभन्दा पश्चिम उत्तरको जंगलमा झापाकी एक महिलाको शव फेला परेको थियो । त्यस अघि पथरी प्रहरीकै कार्यक्षेत्रभित्र कानेपोखरी जंगलमा भारतीय एक महिलाको शव पनि हत्या गरेको अवस्थामा फेला परेको थियो ।
गोविन्द दर्नालको घट्ना बाहेकमा हत्यारा पत्ता लगाउन प्रहरी असफल भएको छ ।