बिराटनगर / प्रहरीले १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरेको छ ।
नेपाल सरकारको २०७५ साल चैत्र १ गतेको निर्णय अनुसार नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका थिए । ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुससँग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो ।
सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् । बाँकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् । संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक रहेका छन् ।

यस्तै एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल मात्र रहेका छन् ।
१ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ । ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसँग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् । ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, इलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् । बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको छ ।