इटहरी/ आगामी असार १४ गते हुने इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचनको लागि नेकपा र नेपाली काङ्ग्रेस समर्थित व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन् ।
 
सङ्घको निर्वाचन प्रयोजनको लागि नेकपा पार्टीको समर्थनमा शैलेस विष्ट र नेपाली काङ्ग्रेस र राप्रपाको समर्थनमा भीम पौडेलको प्यालन चुनावी प्रतिष्पर्धामा उत्रिएको छ । सहमतिको आधारमा नेतृत्व चयन गर्ने, नभएमा सङ्घको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनीतिमा लागेका हुन् । दुवै प्यानल मतदाताको मन जितेर आफ्नो पक्षमा मत लिनको लागि घरदैलो अभियानमा लागेका छन् । अघिल्लो निर्वाचनमा एमालेले हत्याएको पदहरू फिर्ता लिने दाउमा काङ्ग्रेसले राप्रपासँग मिलेर चुनावी मैदानमा उत्रिएको छ ।
 
यस पटकको निर्वाचनमा नेकपाको सिङ्गो पार्टी विष्ट प्यालनलाई विजयी गराउन खट्ने र पौडेल प्यालनलाई जिताउनको लागि नेपाली काङ्ग्रेस र राप्रपा सिङ्गो पार्टी नै लाग्ने देखिएको छ । त्यसैले पनि उवासङ्घ इटहरी यसपटकको निर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि व्यवसायीहरूको चुनावका कारण इटहरीमा छुट्टै तरङ्ग पैदा भएको छ । चुनावमा नेपाली काङ्ग्रेस र राप्रपा निकट तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का व्यवसायीले प्यानलगत उम्मेदवार तय गरेर प्रतिस्पर्धा गर्ने भएको हो ।
 
चुनाव हुने दुई महिनाअघि नै दुवै प्यानलबाट उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । नेपाली काङ्ग्रेस निकट व्यवसायीहरूले बिहीबार उम्मेदवारको नाम सार्वजनिक गरेको हो । यसपटक मुलुकको राजनीतिक समीकरण बदलिएसँगै काङ्ग्रेस–राप्रपा निकट व्यवसायीका तर्फबाट अध्यक्षमा भीम पौडेललाई उम्मेदवार तय गरिएको छ । नेकपाका तर्फबाट शैलेश विष्टलाई तय गरिएको छ । पौडेल दुई कार्यकाल उद्योग वाणिज्य सङ्घको सदस्य पदमा रहेर काम गरिसकेका छन् भने विष्ट हालका वरिष्ठ उपाध्यक्ष हुन् । दुई समूहमध्ये काङ्ग्रेस–राप्रपाले दुईवटा पदबाहेक अन्य पदका उम्मेदवारको टुङ्गो लगाई सकेको छ ।  नेकपामा भने केही पदमा मिलाउन बाँकी रहेको जनाइएको छ । 
 
नेपाली काङ्ग्रेस र राप्रपा समूहका अध्यक्षका उम्मेदवार भीम पौडेलले व्यवसायीहरूको हकहितमा काम गर्ने बताए । आफ्नो टिम व्यवसायीको पक्षमा लाग्ने बताए । पौडेलसँगै दलगत प्रतिस्पर्धाका आधारमा उद्योगतर्फ खगेन्द्र श्रेष्ठ, दिवस पोखरेल, लक्ष्मण हुमागाईं र मुक्ति दाहाल उम्मेदवार हुने तय भएको छ । यस्तै, वाणिज्यतर्फ जीवन पराजुली, विष्णु रिजाल, नवराज काफ्ले, पिताम्बर पोखरेल, अनिल सुब्बा, राजु राय, अशोक मोर, रामकुमार श्रेष्ठ र  खगेन्द्र विमली उम्मेदवार हुने तय भएको छ । महिला उम्मेदवारमा गायत्री भण्डारी र सविना (शोभा) कोइरालाको टुङ्गो लागिसकेको छ । यस्तै, एशोसिएटमा एक जना र वस्तुगतमा दुई जना उम्मेदवार तय गर्न बाँकी छ । 
 
नेकपा समूह अध्यक्ष शैलेस विष्टको नेतृत्वमा राजेन्द्रकेसरी घिमिरे, राजन भेटवाल, किसन केडिया र बज्र लिम्बू उद्योगतर्फ उम्मेदवार दिएका छन् । त्यस्तै टङ्कप्रसाद खनाल, कमल पौडेल, फडिन्द्र मगर, लक्ष्मी धिताल, राजेश खनाल, भोला निरौला र रितेश श्रेष्ठको सम्भावना बढी छ । तर, देवराज मादेन, उमेश दाहाल र सुरेश कार्की पनि आकांक्षी भएकाले गर्दा अन्तिम टुङ्गो लगाउन भने बाँकी छ । त्यस्तै महिलामा रञ्जु सिग्देल र पुनम थापामगर तय गरिएको छ । एशोसिएटतर्फ सुदीप घिमिरेलाई तय गरे पनि वस्तुगततर्फ तय गर्न बाँकी नै रहेको छ । 
 
६  वर्ष अघिको निर्वाचनमा इटहरी क्षेत्रमा २ हजार १३ मतदाता थिए । २०७३ असारमा भएको निर्वाचनमा कुल ४ हजार १ सय १ मतदाता थिए । यसपटक अरु थप मतदाता बढ्ने उवासङ्घ इटहरीले जनाएको छ । अहिलेसम्म नयाँ दर्ता गर्ने समय बाँकी रहेकाले गर्दा मतदाता यकिन हुन समय लाग्ने उवासङ्घले जनाएको छ ।