‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठाैं संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौं कीर्तिपुर निवासी २२ वर्षीया प्रसाईं ओम हेल्थ कलेज चाबहिलकी बिएस्सी नर्सिङको पास आउट विद्यार्थी हुन् । शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधिसमेत हात पारेकी प्रसार्इंले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले नगद ५० हजारसहित विभिन्न उपहारसमेत प्राप्त गरेकी छन् । 
 
शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेण्ड रनर अप घोषित भए । दुवैले क्रमशः नगद ३० हजार र २० हजार सहित विभिन्न गिफ्टसमेत हातपारे ।
 
प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिती डि.सी. बेस्ट वाक, प्रिती सुनाम बेस्ट नर्सिङ थिम ड्रेस, सन्ध्या ओझा मोस्ट डिसिपिप्लन, अनिता बस्नेत पब्लिक च्वाइस, नवीना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए ।
 
प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाईं र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिस क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सिइओ तेयन शर्मा रहेका थिए ।